५० हजार राशिको तारा खेल र एक लाख राशिको भलिबल प्रतियोगिता हुने

|

पर्वत : हिमाल पारीको जिल्ला मुस्ताङमा उत्पादित कृषिजन्य वस्तुहरूको प्रवर्द्धन गर्न तथा पर्यटकहरूलाई  मुस्ताङको आकर्षणको बारेमा थप जानकारी दिनको लागि तीन दिने ‘कृषि तथा पर्यटन’ महोत्सव हुने भएको छ।

घरपझोङ गाउँपालिकाको आयोजनामा यही असोजको १८ गतेदेखि २० गतेसम्म ‘समावेशी, सामाजिक रूपान्तरण, प्राकृतिक संरक्षण र संस्कृति कृषि, पर्यटन पर्यावरण, पूर्वाधार घरपझोङ समृद्धि’ भन्ने नारासहित प्रथम ‘कृषि तथा पर्यटन’ महोत्सव आयोजना गर्न लागिएको हो।

गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनका अनुसार प्राकृतिक सुन्दरताका लागि मात्रै नभइ धर्म, कला, मौलिक संस्कृति, चालचलन, रीतिरिवाज, रहनसहन, लगायतका हिसाबले पनि मुस्ताङ पर्यटनमैत्री क्षेत्रका रूपमा रहेको छ भन्ने पहिचान महोत्सवले दिने अपेक्षा गरिएको छ।

‘यहाँ आउने पर्यटकहरू यहाँको प्राकृतिक दृश्यमा बढी रमाउनुहुन्छ। तर यहाँको मौलिक कला, संस्कृति, चालचलन, कृषि उत्पादन, लगायतका कुराहरू पनि अवलोकनयोग्य छन्। यहाँको उत्पादन र मौलिक संस्कृतिलाई पर्यटनसँग जोडेर लैजान सकेमा पर्यटन प्रवर्द्धनमा अझै सहयोग पुग्छ भन्ने हाम्रो विश्वास छ’, अध्यक्ष लालचन भन्छन्, ‘प्राकृतिक दृश्य अवलोकनका लागि मात्रै होइन की कृषि उत्पादनको खरिद र उपभोगका लागि पनि मुस्ताङ महत्त्वपूर्ण छ भन्ने कुरा महोत्सवले देखाउने छ। हामी यहाँको कृषि उपजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा बजार प्रवर्द्धन गर्न चाहन्छौँ।’

महोत्सवको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गर्नेछन्। सोही मौका पारेर घरपझोङ गाउँपालिकाको नवनिर्मित प्रमुख प्रशासकीय भवन र आपत्कालीन भवनको उद्घाटन पनि मुख्यमन्त्री पाण्डेले नै गर्ने कार्यक्रम तय गरिएको छ। महोत्सवमा कृषि उपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामाग्रीहरूको प्रदर्शनी, गाउँपालिकाले प्रवाह गर्ने सेवाहरू बारे जानकारी, कृषि बाली तथा तरकारी र फलफूल लगायतका सूचना केन्द्र, स्थानीय कला संस्कृति झल्किने प्रदर्शनी, स्थानीय मौलिक झाँकी, स्थानीय रैथाने बालीका परिकार लगायतका आकर्षणहरू रहेका छन्। विभिन्न पर्यटकीय गन्तव्यहरूको अवलोकन, हिमाली समुदायको परम्परागत धार्मिक तथा सांस्कृतिक झाँकी सहित ख्याति प्राप्त कलाकाहरूबाट साङ्गीतिक प्रस्तुतिहरू पनि महोत्सवमा रहने छन्।

प्रतियोगितामा प्रथम पुरस्कार ५० हजार रुपैयाँ र द्वितीय पुरस्कार २५ हजार रुपैयाँ रहेको खुल्ला तारा खेल प्रतियोगिताको पनि आयोजना गरिएको छ। असोज १७ गते समूह दर्ता गरेपछि उक्त खेल असोज १८ र १९ गते सञ्चालन गर्ने तयारी छ। यस्तै असोज १६ गतेसम्ममा नाम दर्ता गरेपछि खुल्ला भलिबल प्रतियोगिता १९ र २० गते सञ्चालन हुने छ। यसमा विजेता बन्ने समूहले नगद एक लाख र उपविजेता बन्ने समूहले ५० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.