पर्वत : कानुन अनुसार हरेक स्थानीय तहले हरेक वर्षको असार १० गतेभित्रमा आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम र बजेट वक्तव्य ल्याएको हुनुपर्छ।
स्थानीय अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा ‘गाउँ कार्यपालिका नगर कार्यपालिकाले प्रत्येक वर्ष असार महिनाको दश गतेभित्र आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्ने छ’ भनिएको छ।
तर पर्वतको कुश्मा नगरपालिकाले भने ऐनमा भएको व्यवस्था उल्लङ्घन भएको ठीक तीन महिना पछि असोज १० गतेका लागि नगर सभा डाकेको छ। सोही सभाबाट नयाँ आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट पेस गर्ने तयारी छ।
राजनीतिक प्रतिस्पर्धा र एक आपसमा कुरा नमिल्दा अहिलेसम्म पनि नगर सभा हुन नसकेको हो। कुश्मा नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेस र नेकपा माओवादीसहितको गठबन्धन अन्तर्गत काँग्रेसका रामचन्द्र जोशी निर्वाचित हुँदा उपप्रमुखमा नेकपा (एमाले) का तर्फबाट स्वस्थानी रिजाल छिन्। कार्यपालिका सदस्यहरूमा एमालेको बहुमत रहँदा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरू अर्को धारमा छन्।
लामो समयसम्म पनि बजेट आउन नसकेपछि सर्व पक्षीय आलोचना खेपिरहेको कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेल पनि यही बीचमा सरुवा भए। विवादित ठाउँ भएकाले काम गर्न समस्या हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत आउनै नमान्दा झनै समस्या थपियो। यहाँको समस्याको बारेमा बुझेकोले समस्या समाधान गर्न सहज हुने भन्दै अन्ततः शिक्षा शाखा प्रमुख उपसचिव (दशौँ तह) विष्णुप्रसाद तिवारी नै प्रमुख प्रशासकीय अधिकृतको रूपमा पद बहाली भए। उनैको पद बहालीपछि बुधवारका लागि नगर सभा गर्ने दिन तोकेर बजेट ल्याउने प्रयास चलिरहेको छ।
नगर सभा डाकिएको अघिल्लो दिन मङ्गलवारदेखि नै जनप्रतिनिधिहरू नगरपालिकाको कार्यालयमा संयुक्त बैठक बसेर अब थप आलोचित नबन्ने उपायको खोजी गरिरहेका छन्। बजेट ल्याउन नसकेको विषयमा सामाजिक सञ्जालदेखि सडकसम्म नागरिक खबरदारी बढ्दै गएपछि आ–आफ्ना सर्तमा लचक भएरै भए पनि बजेट ल्याउने तयारीमा उनीहरू छन्।
बैठकमा सहभागी कुश्मा नगरपालिका–१३ खौलाका वडाध्यक्ष तेजप्रसाद शर्माले बजेट र कायम रहेका विवादहरूकै विषयमा छलफल चलिरहेको बताउँदै बुधबार नै बजेट आउने सम्भावना रहेको बताए। नयाँ बजेट ल्याउँदा विभिन्न पक्षहरूमा सुधार हुनुपर्ने तथा प्रक्रियाको पालना पनि गरेको हुनुपर्ने भन्दै उपप्रमुख रिजालले विभिन्न मागहरू सहित पत्रकार नै सम्मेलन नै गरेकी थिइन्।
मङ्गलबारको संयुक्त बैठकमा ती विषयहरूमा पनि छलफल भइरहेको शर्माको भनाइ छ। ‘नगर सभाको विषयमा हामीहरू संयुक्त छलफलमा नै रहेका छौँ। आज यही विषयमा कुराकानी भइरहेको छ। भोलिको नगर सभामा बजेट आउने सम्भावना छ’, उनले भने, ‘हामीहरूको बीचमा नमिलेका कुराहरूको समाधान कसरी गर्ने? भन्ने विषयमा पनि यही बैठकमा छलफल गरेर अगाडि बढ्ने हो।’
बजेटका विषयमा नेपाली काँग्रेस र नेकपा (एमाले) कै विचार बोकेका जनप्रतिनिधिहरू विभाजित हुँदै आइरहेका छन्। एमालेका जनप्रतिनिधिले बजेट विभाजनमा समस्या ल्याएपछि बजेट ल्याउन असहज भएको काँग्रेस निकटका जनप्रतिनिधि बताउँछन्। आपसी सहमति गरेर बजेट ल्याउने भनेर असार १० को रातभर छलफल भए पनि सहमति भने हुन सकेन। मुख्य त अहिलेको बजेटबाट विगतको बाँकी भुक्तानी गर्ने कि नगर्ने? भन्नेमा बढी रस्साकस्सी हुँदै आएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।