काठमाडौं : इन्द्रजात्रा पर्वको अवसरमा वसन्तपुरमा आज सामूहिक कुमारी पूजा गरिएको छ। भाद्र शुक्ल चतुर्दशी हरेक वर्षझैँ यस वर्ष पनि इन्द्रजात्रा पर्वको पूर्वसन्ध्यामा सामूहिक कुमारी पूजा गरिएको हो। वर्षा र सहकालका देवता इन्द्रको पूजा आराधना गरी इन्द्रजात्रा पर्व मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हुनुमानढोका अगाडि धार्मिक विधिअनुसार इन्द्रश्वजसहितको लिंगो ठड्याएपछि सुरु हुने यो जात्रामा विभिन्न प्रकारका नाचगान, रथयात्रा तथा देवीदेवताको पूजाआजा गरी ८ दिनसम्म मनाइने गरिन्छ।
किम्बदन्तीअनुसार आफ्नी आमालाई बसुन्धराको ब्रतको लागि पूजा सजाउन स्वर्गलोकका राजा इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले बाँधेर बीच सडकमै जात्रा गरेको दिनका रूपमा इन्द्रजात्रा मनाउने प्रचलन छ। त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौं आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन्। त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन छ।
इन्त्रजात्रा को प्रमुख कार्य नै लिंगो (ध्वजा) स्थापना हो। पुराण अनुसार प्राचीन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे। त्रिदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजा गरेर इन्द्रलाई हस्तान्तरण गरे। इन्द्रले समातेकाले त्यस ध्वजालाई इन्द्रध्वजा भनियो। देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वजा पूजा र समारोहले निरन्तरता पायो।
स्वर्गलोग र पृथ्वीमा समेत विजयको कामनाले राजाहरूले इन्द्रध्वज स्थापना गर्न थाले। पृथ्वीको राजा उपरिचर वसुलाई देवराज इन्द्रले इन्द्रध्वजा दिएपछि उनले युद्धमा सजिलै विजय हासिल गरेको चर्चाले सबैमा यो पर्व मनाउने हौसला जाग्यो। आफ्नो राज्यमा सुख, समृद्धि वृद्धि गर्न इन्द्रध्वजा स्थापना गर्ने परम्परा बस्न थाल्यो।
तान्त्रिक विधिद्वारा पूजा गरेर काभ्रेको नालास्थित जंगलमा छाडिएको बोकाले छोएको रुख भाद्र शुक्ल द्वितीयाका दिन काटिन्छ र साइत हेरेर उपत्यका भित्राउने चलन रहेको छ। यसपछि एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पारिन्छ। हनुमानढोका दरबारक्षेत्रमा कालभेरवको विशाल मूर्ति अगाडि धार्मिक विधिअनुसार उक्त लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल सुरु हुन्छ। यसरी ठड्याइएको लिंगोलाई 'इन्द्रध्वजोत्थान' पनि भन्ने गरिन्छ।
नेपाल भाषामा 'योसीं' भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अङ्कित पताका झुन्ड्याएको हुन्छ। उक्त लिंगो ठड्याएपछि फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ र लिंगो ठड्याउँदा नेपाली सेनाको ब्यान्ड, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन्।
इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ। यस अवसरमा हनुमानढोका दरवारक्षेत्रमा रहेको श्वेत भैरव सर्वसाधारणलाई दर्शन र पूजाका लागि खुला गरिन्छ।
यस पर्वमा हनुमानढोका लगायतका क्षेत्रमा जीवितदेवीका रूपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ। आठ दिनसम्म काठमाडौंका विभिन्न ठाउँमा भक्कुनाचहलचोकको (सवभकु), भक्तपुरको महाकालीनाच, मजिपातको मजिपमत लाखेनाच, दसअवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतिकका रूपमा(किलागलका पुलुकिसी) पुलुकिसी नाच नचाउने गरिन्छ।
यस्तै, आजका दिन मुख्य रूपमा मनाइने इन्द्रजात्रा पर्वमा राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा हेर्ने परम्परा छ।
इन्द्रजात्राकै क्रममा शाक्य जातकी एक बालिकालाई कुमारीका रूप र दुई बालकलाई गणेश र भैरवको स्वरूपमा बेग्लाबेग्लै रथमा राखी बाजागाजाका साथ जात्रा गर्दै तल्लो टोलहरू र माथिल्लो टोलहरूमा परिक्रमा गराइन्छ। इन्द्रजात्राको अन्तिम दिनमा नानीचा याः भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई पुनः बसन्तपुर नै पुर्याएपछि इन्द्रजात्रा सकिन्छ। त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाएपछि इन्द्रजात्रा समाप्त हुन्छ।
केही तस्वीर झलक :
तपाईंको ईमेल गोप्य राखिनेछ ।