काठमाडौँ : चितवनकी पुष्पा र अञ्जलि(गैँडा) आज कोशी पुगेका छन्। चितवन राष्ट्रिय निकुञ्जबाट पुष्पा र अञ्जलिलाई कोशी टप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको हो। पुष्पा र अञ्जलिलाई दुई अलग खोरमा राखेर कोशी पुर्याइएको थियो।
पुष्पा र अञ्जलिलाई आज वन तथा वातावरणमन्त्री डाक्टर वीरेन्द्रप्रसाद महतोसहित विभागका कर्मचारीको उपस्थितिमा आरक्ष कार्यालयलाई हस्तान्तरण गरिएको छ। कोशी टप्पु पुर्याइएका पुष्पा र अञ्जलिलाई बस्नका लागि आरक्ष हातामा १६ फिट अग्लो र ८५ फिट लामो इन्क्लोजर निर्माण गरिएको छ।
पानीसहितको घाँसेमैदान क्षेत्रमा रहने गैँडा आरक्ष सुरक्षामा खटिएको सेनाको प्रत्यक्ष निगरानीमा रहनेछन्। कोशी टप्पु पुर्याइएका पुष्पा र अञ्जलि दुवै टुहुरा हुन्। दुबैको बच्चा अवस्थामा उद्धार गरिएको थियो। सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालयमा मानिसको माया र ममतासँगै हुर्किएर बढेकी पुष्पाको उमेर ३ वर्ष ८ महिना र अञ्जलिको उमेर २ वर्ष ५ महिनाको छ।
वंश विस्तारको योजनाअनुसार कोशी टप्पु पुर्याइएका दुई पोथी गैँडा प्रजनन योग्य भएपछि भाले गैँडा लगिनेछ। आरक्षका प्रमुख संरक्षण अधिकृत रमेश यादवका अनुसार पोथी गैँडा ४ वर्ष र भाले गैँडा ६ वर्ष पुगेपछि प्रजनन योग्य हुन्छन्।
मन्त्री महतोले मानिससँगको घुलमिल रुचाउने पुष्पा र अञ्जलिका लागि कोशी टप्पु उपयुक्त बासस्थान भएको बताए। भाले गैँडा काठमाडौँबाट कोशी टप्पु लगिने उनले बताए। मन्त्री महतोले कोशी टप्पुलाई अर्नासँगै हात्ती र गैँडा अवलोकन समेतको आकर्षक गन्तव्य बनाउने सरकारको योजना रहेको बताए। उनले आरक्षमा छिट्टै बाघसमेत स्थानान्तरण गरिने बताए।
विगतमा कोशी टप्पुबाट २०७३ सालमा अर्नाको वंश विस्तारका लागि भन्दै १२ वटा अर्ना चितवन राष्ट्रिय निकुञ्ज पठाइएका थिए। सोही क्रममा अर्नाको सट्टामा गैँडा दिइने बताइएको थियो। सोही अनुरूप निकुञ्जमा हुर्किएका पुष्पा र अञ्जलिलाई कोशी टप्पुमा स्थानान्तरण गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।