बैतडी : बैतडीमा सशस्त्र प्रहरी हवल्दारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
आज राति १ बजेतिर दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका-८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन-८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको ज्यान गएको थियो। मृतक महरा सशस्त्र प्रहरीको बाजुरास्थित आश्रित गुल्ममा हवल्दार पदमा कार्यरत थिए।
बाजुराबाट बझाङको गाडीमा घर आएका महरा खोड्पे बजारमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका वेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो। ठक्कर दिने बस र चालक फरार भएका थिए।
धनगढीबाट दार्चुलातर्फ गइरहेको उक्त बसले महरालाई ठक्कर दिएको खुल्न आएको छ। त्यसपछि बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका-१ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।
यसैबीच महराको मृत्युपछि ठक्कर दिने गाडी पहिचानको माग राखेर शव सडकमै राखेर आफन्तले राजमार्ग अवरुद्ध पारेका थिए।
महरालाई ठक्कर दिने बस र चालकको पहिचान भएर प्रहरीले पक्राउ गरेपछि मृतकका आफन्तले अवरुद्ध गरेको दशरथचन्द राजमार्ग पनि सञ्चालनमा आएको हो।
मृतकको शव परीक्षणका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।