|

काठमाडौँ : नेपाल चिकित्सक संघको बैठकले आन्दोलनरत आवासीय चिकित्सकहरूसँग छलफल गर्ने भएको छ।

बुधवार संघको बोर्ड बैठकले आन्दोलनबारे आवश्यक निर्णय लिने भने पनि ठोस निर्णय गर्न सकेन। बैठकपछि संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले आवासीय चिकित्सकसँग छलफल गरेपछि मात्रै आन्दोलनका कार्यक्रम अघि बढाउने वा नबढाउने भन्नेबारेमा निर्क्योल गर्न सकिने बताए।

आवासीय चिकित्सकहरूले आन्दोलन जारी राखेका छन्। मणिपाल शिक्षण अस्पताल, पोखरा लगायतका स्थानमा स्वास्थ्यकर्मीमाथि आक्रमण भएपछि चिकित्सकहरू मंगलवारदेखि आन्दोलनमा छन्। अध्यक्ष कार्कीले चिकित्सकहरूमाथि बारम्बार आक्रमण भइरहेको भन्दै सरकारले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) कार्यान्वयनको विश्वसनीय आधार दिनुपर्ने बताए।

कार्कीले चिकित्सकहरूको आन्दोलनमा ऐक्यबद्धता कायम रहेको बताए। उनले कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनुपर्ने बताए। डा.कार्कीले गृह मन्त्रालयमा भएको वार्ताबारे आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने र आन्दोलनलाई कसरी अघि बढाउनेबारे थप निर्णय हुने बताए। उनले आन्दोलन जायज भएकाले आन्दोलन फिर्ता नलिने बताए।

डा. कार्कीले भने, ‘यो आन्दोलन जायज छ। हाम्रो ऐक्यबद्धता पहिलेदेखि नै थियो। केही उपलब्धि नभई हामी आन्दोलनबाट फर्किनुहुँदैन। कानून कार्यान्वयनको विश्वसनीय आधार निस्किनु पर्‍यो। कानूनको कमजोरीलाई थप संशोधन गरेर मजबुत बनाउनु पर्‍यो। आन्दोलनको मोडालिटी र आन्दोलन कसरी गर्ने भन्ने कुरामा हामी उहाँहरूसँग बसेरै छलफल गर्छौं। पोखरा घटनामा सबैभन्दा पीडामा पर्नुभएको उहाँहरू हो। उहाँहरूको पीडामा मलम लगाउने गरी अघि बढ्छौं। ’

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतसहित बुधवार भएको छलफलले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन २०६६ (संशोधनसहित) ले गरेको कसुर र दण्ड सजायसँग सम्बन्धित व्यवस्था उल्लेख गरेर सूचना टाँस्ने निर्णय गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.