स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानले सञ्चालन गरेकोे ‘आशिष दाई बहुद्देश्यीय कृषि फार्म’मा चितुवा पसेर कालिज सखाप पारेको छ।
आज बिहान फार्ममा दानापानी दिन जाँदा कालिज मृता भेटिएको थियो। करिब दुई सय २० को हाराहारीमा कालिज रहेकामा एक सय ९० वटालाई चितुवाले मारेको सञ्चालक न्यौपानेले बताए।
“म र मेरी श्रीमती दाना खुवाउन फार्ममा पसेका थियौँ, अचानक कालिज मरेका र घाइते कालिज छट्पटाएको देख्दा अताल्लियौँ”, उनले भने, “श्रीमतीले झाडीमा चितुवाको पछाडिको भाग देखेपछि ज्यान बचाउन हामी बाहिर भाग्यौँ।”
सित्मामा डेढ वर्ष पहिलेदेखि कालिजपालन गरिँदै आएको थियो। बेच्न र फुल पार्न ठिक्क परेका करिब साढे चार लाख बराबरको कालिज चितुवाले मारिदिएको न्यौपानेको भनाइ छ। चितुवाले धेरैजसो कालिजलाई नङ्ग्रा गाढेर मारेको पाइएको छ।
डिभिजन वन कार्यालय स्याङ्जा, नेपाल प्रहरी र स्थानीयले दिउँसो १ बजेसम्म होहल्ला गर्ने, माटो छर्किने र पासो थापेर चितुवालाई नियन्त्रणमा लिने प्रयास गरेका थिए। चितुवा फार्म नाइलको जाली च्यातिएको भेटिएपछि चितुवा भागेको आशङ्का गरिएको छ।
न्यौपानले फार्ममा हालसम्म रु १७ लाख लगानी गरेका थिए। फार्म चार रोपनी जमिनमा फैलिएको छ। कालिज प्रतिवटा दुई हजार पाँच सय र अण्डा ५०देखि एक सयसम्ममा बिक्री हुँदै आएको थियो। स्याङ्जा, गुल्मी र पर्वतबाट कालिज किन्न ग्राहक आउने गरेका थिए।
वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताएका न्यौपाने कालिजपालनतर्फ लागेका थिए। जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजारलगायत स्थानमा कृषकले कालिजपालन गरेका छन्। कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलोे भएकाले माग धेरै छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।