|

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेल बिहीवार दिउँसो इन्द्रजात्रा अवलोकनका लागि वसन्तपुर जाँदै छन्। राष्ट्रपति पौडेलको सवारी रुटमा नेपाली सेनाले बुधवार रेकी गरेको छ। राष्ट्रपति पौडेल जुद्ध सालिकसम्म गाडीमा सवार हुने गरी रुट तय भएको छ।

काठमाडौँ महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा सवारी साधन प्रवेशमा गत असारदेखि रोक लगाएको छ। राष्ट्रपतिको सवारीलाई जुद्ध सालिकदेखि कुमारी घरसम्म प्रवेश गर्न दिने/नदिने निर्णय नगरिएको महानगरपालिकाले जनाएको छ।

महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले गाडी लिएर जाने या पैदल जाने राष्ट्रपति पौडेलको चाहना अनुसार नै हुने बताए। ‘पैदल नै गए खोल्नु परेन,’उनले भने, ‘गाडी लिएर जान चाहे विशेष भएकाले लान सक्नुहुन्छ।’

इन्द्रजात्राको मुख्य दिन बिहीवार राष्ट्रपतिबाट हनुमानढोकास्थित गद्दी बैठकमा जीवित देवीका रूपमा रहेका कुमारी, गणेश र भैरवको रथयात्रा हेर्ने तालिका छ। दिउँसो ३ बजे राष्ट्रपति पौडेल रथयात्रा अवलोकनका लागि वसन्तपुर पुग्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपतिलाई जुद्ध सालिकबाट कुमारी घरसम्म बग्गीमा लैजाने प्रस्ताव भने अस्वीकृत भएको छ। काठमाडौँ महानगरपालिकाले जुद्ध सालिकबाट वसन्तपुरमा सवारी साधन प्रवेश निषेध गरेकाले बग्गीमा लैजाने प्रस्ताव इन्द्रजात्रा व्यवस्थापन समितिले गरेको थियो।

महानगरपालिकाका मेयर शाहले हिँडेर जाँदा पनि हुने बताएपछि राष्ट्रपति पौडेललाई बग्गीमा लैजाने प्रस्ताव अस्वीकृत भएको स्रोतले बताएको छ। महानगरपालिकाका प्रवक्ता मानन्धरले जुद्ध सालिकबाट कुमारी घरसम्म बग्गीमा लैजाने कुरा नभएको बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.