|

काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा पाँचदिने भारत भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्। उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत सरोजप्रताप राणाले स्वागत गरे।

नयाँदिल्लीमा भारतीय सेना र अमेरिकी सेनाको संयुक्त आयोजनामा सम्पन्न तेह्रौँ संस्करणको इण्डो–प्यासिफिक सेना प्रमुख सम्मेलनलगायत कार्यक्रममा भाग लिन असोज ७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

असोज ८ देखि १० गतेसम्म इण्डो–प्यासिफिक क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्न ‘शान्तिका लागि सँगै’ भन्ने विषयवस्तु प्रस्तुत उक्त सम्मेलनमा ३० देशका सैनिक कमाण्डर तथा सैनिक अधिकारी सहभागी थिए।

नयाँ दिल्लीमा रहँदा प्रधानसेनापतिले अष्ट्रेलिया, बङ्गलादेश, जापान, संयुक्त राज्य अमेरिका, बेलायत र भारतका समकक्षीहरूका साथै भारतका चिफ अफ डिफेन्स स्टाफसँग बेग्लाबेग्लै भेटघाट गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापति शर्माले नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजको भ्रमण गरेका थिए। त्यस अवसरमा उनले उक्त कलेजमा सञ्चालन भइरहेको तालिममा सहभागी शिक्षार्थी र शिक्षकहरूसमक्ष राष्ट्र निर्माण र नेपालको परराष्ट्र नीतिमा सेनाको योगदान विषयमा प्रवचन दिएका थिए।

हाल उक्त कलेजमा सञ्चालन भइरहेको एनडिसी तालिममा नेपालका तीन महासेनानी सहभागी छन्।

भ्रमणका क्रममा विभिन्न मित्रराष्ट्रहरूका समकक्षीलगायत पदाधिकारीहरूसँग मानवीय सुरक्षालगायतका साझा चासोका विषयमा अनुभव आदान–प्रदान गर्ने अवसर प्राप्त भएको सेनाले जनाएको छ। ती देशहरूसँगको नेपालको सम्बन्ध थप सुमधुर बनाउन मद्दत पुगेको विश्वास नेपाली सेनाले लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.