|

पर्वत : देशैभर चिकित्सकहरूले आन्दोलन गर्नुको एउटा विषय पोखरामा रहेको मणिपाल शिक्षण अस्पतालको बिरामी मृत्यु प्रकरण पनि एक हो।

असोज सात गते लमजुङको सुन्दरबजार नगरपालिका–६ की ५७ वर्षीय सुकमाया दुरालाई श्वासप्रश्वास तथा ढाड दुख्ने समस्या सम्बन्धी बिरामी भई मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारको क्रममा उनको मृत्यु भएपछि मृतकका आफन्तहरूले उपचारमा चिकित्सकको लापरबाहीका कारण दुराको मृत्यु भएको र मृत्युको कारण खुलाउनु पर्ने माग राखी आन्दोलन गरे।

त्यस क्रममा मृतक पक्ष र चिकित्सक पक्ष बीच विवाद सृजना भई होहल्ला सहित नाराबाजी भयो। मृतक र चिकित्सक दुवैका तर्फबाट अस्पतालमा तोडफोड समेत भयो। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै डा.अनिल शाहमाथि आक्रमण गर्नुका साथै अस्पताल परिसरमा समेत तोडफोड गरे।

बिरामीका आफन्तले उनीहरूले उपचारका क्रममा बिरामीको अवस्थाबारे कुनै जानकारी नदिइएको र अस्पतालकै लापरबाहीका कारण मृत्यु भएको आरोप लगाए। उपचारमा संलग्न चिकित्सकमाथि नै हातपात हुन थालेपछि प्रहरीले मृतकको र चिकित्सक दुवै पक्षका व्यक्तिलाई नियन्त्रणमा लियो। एक जना प्रहरी इन्स्पेक्टरले त चिकित्सकमाथि आफूले साफ धुलाई गरेको भनेर उत्तेजित भिडमा बोलेको भिडिओ भाइरल बन्यो। ती प्रहरी अधिकृत अहिले निलम्बनमा परिसकेका छन्।
बिरामीलाई बचाउन निकै प्रयास गर्दा पनि बचाउन नसकेको अवस्थामा उपचारमा संलग्न चिकित्सकमाथि हातपात भएको भन्दै चिकित्सकहरूले सुरक्षाको प्रश्न उठाइरहँदा दुई पक्षबीच कुरा मिल्न सकिरहेको थिएन। चिकित्सकमाथि कुटपिट गर्नेलाई कानुनी कारबाही नभएसम्म आफूहरूले सुरक्षित भएर काम गर्न नसक्ने भन्दै त्यहाँ कार्यरत चिकित्सकहरूले गत सोमबारदेखि सेवा बन्दको घोषणा गरेर आन्दोलन गरिरहेका थिए।

पछिल्लो पटक जिल्ला प्रशासन, प्रहरी, अस्पताल, पीडित पक्षबीच पटक पटक भएका वार्ताका क्रममा उनीहरूबीच छ वटा बुँदामा सहमति जुटेको छ। सहमतिसँगै आन्दोलनमा रहेका मृतकका आफन्त र चिकित्सक दुवै पक्षको आन्दोलन सकिएपछि अस्पतालले शुक्रबारदेखि नै सेवालाई निरन्तरता दिएको छ।

सहमति अनुसार मृतक सुकमायाको स्मृतिमा मणिपाल शिक्षण अस्पतालले लमजुङको सुन्दरबजार नगरपालिकाभित्र सकेसम्म मृत्यु भएको मिति पारेर १० वर्षसम्म प्रत्येक वर्षको एक पटकका दरले विशिष्टीकृत चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, दुरा सेवा समाज लमजुङ, दुरा समाज कास्की र स्थानीय सरकारको सिफारिसमा अल्पसङ्ख्यक दुरा जातीको उपचारमा सहुलियत दिने, मृतक दुराको मृत्युको अनुसन्धानमा दुवै पक्षले सहयोग गर्ने, डाक्टरमाथि आक्रमणको आरोपमा  पक्राउ परी म्याद थप गरिएका विनय गुरुङ उपर दर्ता भएको कसुर मुद्दामा कानुनी रित पुर्‍याएर सहजीकरण गर्ने र आन्दोलनका कार्यक्रम स्थगित गर्ने भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.