चितवनमा एक करोडको बियर पनि नष्ट

|

काठमाडाैँ : बजार अनुगमनका क्रममा चितवनबाट म्याद गुज्रिएको झण्डै एक करोडको बियर नष्ट गरिएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको टोलीले अनुगमनका क्रममा चितवनमा ९७ लाख मूल्य बराबरको ४ गाडी बियर नष्ट गरेको हो।

याक ब्रुइङ कम्पनीको बाह्रसिंगे बियर चितवनको कुरिन्टारमा लगेर नष्ट गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले थाहाखबरलाई जानकारी दिए।

विभागले आज काठमाडौँको पेप्सीकोला,बालाजु, असन क्षेत्र र भक्तपुरका विभिन्न ठाउँमा अनुगमन गरेको छ। पेप्सीकोलास्थित एक किराना पसललाई सिल गरिएको विभागका सूचना अधिकारी पोखरेलले जानकारी दिए।

उनका अनुसार उक्त पसलको गोदाममा दाल, चामल बिस्कुटलगायतका सामानहरू एकै ठाउँमा राखिएको पाइएपछि विग्रिएको आशंका गरिएको छ। गोदाममा रहेको चामल परीक्षणका लागि भोलि स्याम्पल उठाइँदैछ।

असन क्षेत्रका ड्राइ फुड्स र मसलाहरूको अनुगमनका क्रममा एक पसललाई ५० हजार र दुईवटा पसललाई १५ हजारका दरले जरिवाना गरिएको छ। त्यस्तै बालाजुकाे एक पसललाई ६० हजार जरिवाना गरिएको छ। विभिन्न  ठाउँहरूमा भइरहेका अनुगमनको विवरण आउन बाँकी रहेको उनले बताए।

असोज १ गतेबाट चाडपर्व लक्षित अनुगमनमा निस्किएको विभागको अनुगमन टोलीले अनुगमनलाई तीव्रता दिएको छ। चाडपर्व लक्षित अनुगमनअन्तर्गत विभागको नेतृत्वमा वातावरण विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, गुणस्तर तथा नापतौल विभाग, औषधि विभाग, आन्तरिक राजश्व विभाग, जिल्ला प्रशासन कार्यालयसहितको संयुक्त अनुगमन टोलीबाट दैनिक औषत ३५ वटा फर्मको अनुगमन गरिएको छ। आगामी हप्ताबाट थोक बिक्रेता, गोदामहरू र अधिक मूल्यवृद्धि भएका वस्तुहरूको अनुगमन कार्यलाई तीव्र पारिने विभागले उल्लेख गरेको छ।

यस्तै विभागले साउन १ गतेदेखि असोज १२ गतेसम्म ११ सय ४६ वटा अनुगमन गर्दा ९२ लाखभन्दा बढी जरिवाना गराएको छ भने ३४ वटा फर्मबाट १ करोड १ लाखको सामान नष्ट गरिएको सूचना अधिकारी पोखरेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.