|

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्ने कुरा विधेयकमा समावेश गरिएको बताएका छन्।

आइतवार प्रतिनिधि सभामा विद्यालय शिक्षा विधेयक, २०८० पेस गर्दै उनले विधेयकमार्फत शिक्षकलाई राजनीतिबाट टाढा राख्ने प्रयास गरिएको बताएका हुन्। उनले मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा भए पनि आस्थाको कारणले पठनपाठन प्रभावित पार्न नहुनेमा सरकार सचेत रहेको बताए।

उनले ट्रेड युनियन अधिकारअन्तर्गत आफ्नो पेशागत हक हितका निम्ति उनीहरूले संगठित हुन पाउने शिक्षक महासंघको व्यवस्था विधेयकमा गरिएको बताए। उनले शिक्षाको स्तर माथि उठाउन राष्ट्रिय परीक्षा बोर्ड त्यसको स्वायत्ततामा कार्यरत कर्मचारीको पेशागत हक हित समेतलाई ध्यान दिनुपर्ने स्थिति रहेको बताए।

उनले भने, ‘शिक्षकहरूलाई राजनीतिबाट टाढा राख्नुपर्छ। मान्छेको व्यक्तिगत आस्था आफ्नो ठाउँमा छ तर त्यो आस्थाको कारणले पठनपाठनलाई प्रभावित पार्नु हुँदैन। शिक्षाको गुणस्तरलाई प्रभावित पार्नु हुँदैन। उहाँहरुले कसैको सदस्यता लिएर कसैका विरुद्ध कसैका लागि भोट माग्ने काम गर्नु हुँदैन भन्ने राखिएको छ। अर्कोतिर ट्रेड युनियन अधिकारअन्तर्गत आफ्नो पेशागत हकहितका निम्ति उहाँहरू संगठित हुन पाउने शिक्षक महासंघको व्यवस्था गरिएको छ।’

शिक्षामन्त्री राईले पाठ्यक्रम विकासका सम्बन्धमा पाठ्यपुस्तक तर्जुमा गर्नुपर्ने सन्दर्भमा पनि अहिलेको समसामयिक परिवर्तनलाई समेत आत्मसात गरेको पाठ्यपुस्तक तयार गर्नुपर्नेतर्फ विधेयकको ध्यान गएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.