|

काठमाडौं : धादिङको नेत्रावती डवजोङ गाउँपालिका वडा नं ४ हजारेमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरेको छ।

नेत्रावती डवजोङ गाउँपालिका हजारेकी ७२ वर्षीया सुकमाया गुरूङको हत्या गरेको आरोपमा पक्राउ परेका ३५ वर्षीय मंगल गुरुङलाई आज (आइतबार) जिल्ला प्रहरी कार्यलय धादिङले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

शुक्रबार दिउँसो ४ बजे मृतक गुरुङको शव फेला परेको खबर पाएर प्रहरी चौकी टोड्के र जिल्ला प्रहरी कार्यालय धादिङबाट गएको प्रहरी टोलीले घटनाको अनुसन्धानका क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि खोजतलास गर्ने क्रममा गोठमा लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको धादिङका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

अनुसन्धानका क्रममा मंगलको ढाड कुप्रो रहेकोले मृतक गुरुङले नै बोक्सी लगाई ढाड कुप्रो बनाइदिएको र गाईबाख्राले अन्नबाली खाएको विषयलाई लिएर मंगलले सुकमायालाई खुर्पा प्रहार गरी हत्या गरेको उनको भनाई छ।

घटनाको थप अनुसन्धान जारी रहेको छ। मृतक गुरुङको शवलाई पोष्टमाटर्म गर्न धादिङ अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.