काठमाडौं : नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले पार्टीमा कम्तिमा १० वर्ष वर्तमान अध्यक्ष केपी ओलीको विकल्प नभएको बताएका छन्।
पार्टीको गण्डकी प्रदेश कमिटीको अधिवेशन उद्घाटन समारोहमा सोमबार बोल्दै गुरुङले केपी ओली नहुँदा राष्ट्रिय स्वाधिनताको यात्रा बिथोलिन सक्ने बताए।
‘कम्तीमा अबको १० वर्षसम्म केपी ओलीको विकल्प छैन। केपी ओली भएन भने राष्ट्रिय स्वाधिनताको यात्रा डगमगाउन सक्छ,’ उनले भने ।
उनले पार्टीमा एकता चाहिएको बताउँदै विभाजनले शक्ति प्राप्त नहुने बताए।
अर्को प्रसंगमा उपमहासचिव गुरुङले ललिता निवास प्रकरणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरेको आरोप लगाएका छन् ।
प्रचण्डले सरकार टिकाउनकै लागि अपराधीसँग सम्झौता गरेको गुरुङको टिप्पणी छ।
‘कांग्रेस शोसक, कमिसनखोर र भ्रष्टाचारीहरूको पार्टी हो। आज सरकारमार्फत् कमिसनखोर र तस्करहरु समातेको नाउँमा कमरेड प्रचण्डले माधव नेपालसँग म्याच फिक्सिङ गरे । यो मुलुकको प्रधानमन्त्रीसँग शेरबहादुर देउवासँग म्याच फिक्सिङ गरे । उनले भने ‘हामी सबैलाई थाहा छ। अनुसन्धानको सुइरो एउटा पूर्वप्रधानमन्त्रीको पत्नीतर्फ फर्किन्छ अनि सरकार चुप लागेर बस्छ। सरकार टिकाउन अपराधी लुकाउने कुरामा सम्झौता गरेर सरकार चलिरहेको छ।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।