|

काठमाडौं : देशभर यो वर्ष हालसम्म डेंगु संक्रमितको संख्या ३४ हजार भन्दा बढी पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरण अनुसार हालसम्म देशभर ३४ हजार २८८ जना संक्रमित पुगेका छन। यस्तै हालसम्म यो वर्ष २० जनाले डेंगुकै कारण ज्यान गुमाएका छन्। 

पछिल्लो विवरण अनुसार सुनसरी, झापा, धादिङ, मोरङ, तनहुँ, काठमाडौं र कास्की गरी ७ जिल्लामा ५ सयभन्दा बढी व्यक्तिमा डेंगु संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ।

 सबैभन्दा बढी सुनसरीमा १६ हजार ६७ जना (जम्मा संक्रमितमध्ये ४६.९ प्रतिशत), झापामा ३ हजार ५४६ (१०.३ प्रतिशत), धादिङमा ३ हजार १११, मोरङमा २२ सय ६७ जना,तनहुँमा २ हजार ७१०जना, कास्कीमा ७०९ संक्रमित पुगेका छन्।  काठमाडौंमा पनि यो हप्ता संक्रमित बढेका छन्। काठमाडौंमा हाल ६७९ जना, ललितपुरमा २२६ र भक्तपुरमा २६२ जनामा संक्रमण भेटिएको छ।

काठमाडौं पनि डेंगुको रेड जोनमा परेको छ। कुनै पनि जिल्लामा ५ सयभन्दा धेरै संक्रमित भेटिएमा उक्त जिल्ला संक्रमणको 'रेड जोन' मा रहेको मानिन्छ। 

इडिसिडीको विवरण हेर्दा यो वर्ष सुरुमा मोरङ सुनसरी झापा जिल्लामा संक्रमण धेरै देखिए पनि हाल यी जिल्लाहरुमा संक्रमण घट्दै गएको छ भने काठमाडौं तनहुँ धादिङ जस्ता जिल्लामा संक्रमण बढेको देखिन्छ। 

इडिसिडीकै विवरण हेर्ने हो पनि गत वर्ष सेप्टेम्बर महिनामा डेंगुका सबैभन्दा धेरै बिरामी भेटिएका थिए। नेपालमा गत वर्षहरूमा डेंगु संक्रमणको बढ्दो प्रवृत्ति हेर्दा अझै एक महिना डेंगु संक्रमण तीव्र बढ्ने देखिन्छ।​

इडिसीले यसअघि नै डेंगु संक्रमण असारदेखि बढ्दै गएर भदौ र असोजमा उच्च हुने प्रक्षेपण गरिसकेको छ।  अघिल्लो वर्ष साउनदेखि कात्तिकसम्म काठमाडौं उपत्यकासहित देशभर डेंगु तीव्र गतिमा फैलिएको थियो।

गत वर्ष काठमाडौं उपत्यकामा महामारीकै रूपमा डेंगु संक्रमण फैलिएको थियो। त्यो बेला ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए।

गत वर्षको अगस्टमा नेपालमा ३ हजार ७०८ जना संक्रमित भेटिएकोमा यो वर्षको अगस्टमा १३ हजार ३६३ जना संक्रमित भएका छन्। यसैगरी गत वर्ष जुलाईमा ७२० जना संक्रमित भएकोमा यो वर्ष जुलाइमा ६ हजार ६९ जना संक्रमित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.