काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मुलुकको कार्यकारी भूमिका कुनै विदेशीबाट सञ्चालन भइरहेको हो र भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न सोधेका छन्।
पछिल्लो पटक गरिएको पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे आफूलाई थाहा नभएको प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति उल्लेख गर्दै उनले प्रधानमन्त्री प्रचण्ड मुलुकको कार्यकारी भूमिका नभएसरह देखिएको जिकिरसमेत गरे।
मंगलवार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले प्रधानमन्त्री प्रचण्डको संयुक्त राष्ट्र संघको महासभामा भएको सम्बोधनप्रति पनि असन्तुष्टि जनाए। उनले विश्वका आम जनतामा एकता ल्याउने खालको सम्बोधन सो सभामा प्रधानमन्त्रीले राख्न नसकेको गुनासो गरे।
सांसद सुवालले भने, ‘प्रधानमन्त्रीजीले इन्धनको मूल्य वृद्धिबारे थाहा नभएको बताउनु भयो। आफूलाई यसरी थाहा नहुनुको अर्थ प्रधानमन्त्री कार्यकारी भूमिकामा नभएको सरह हो‚ स्वीकार गर्नु हो। के कुनै विदेशीबाट कार्यकारी भूमिका सञ्चालन भइरहेको हो र? प्रधानमन्त्रीजीले संयुक्त राष्ट्र संघको महासभाबारे संक्षिप्त जानकारी गराउनु भयो तर प्रधानमन्त्रीजीको सम्बोधनमा एक देशको समाजको नीति अर्कोमा लागू नहुने प्राथमिकतामा परम्परा, इतिहास, संस्कृति फरक हुने, बरु एक अर्कोबाट सिक्ने, अनुभव बाँड्ने र बुझ्ने, विश्वका जनतामा विभाजन होइन, एकतामा ल्याउनेबारे उल्लेख भएन।’
सांसद सुवालले राष्ट्र संघको महासभामा गरिब राष्ट्रको पक्षमा पनि प्रधानमन्त्री प्रचण्डको सम्बोधन नआएको आरोप लगाए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।