दमौली : भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत तनहुँको पश्चिम खण्डको शनिवार निरीक्षण गरेका छन्।
पोखरास्थित सेती नदीमा बन्ने पुलको शिलान्यासका लागि आएका उनले पृथ्वीराजमार्गअन्तर्गत तनहुँ खण्डको स्थलगत निरीक्षण गरेका हुन्। जामुनेबाट कोत्रेसम्मको खण्डको काम सुस्त भएपछि मन्त्री ज्वालाले निरीक्षण गरेका हुन्।
त्यसक्रममा मन्त्री ज्वालाले आयोजनाको कामलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको औँल्याए। सडक आयोजनाको काममा ढिलासुस्ती भएकाले यसलाई द्रुतगतिमा अगाडि बढाउनुपर्ने अवस्था रहेको उनको भनाइ थियो। गण्डकी प्रदेशको ‘लाइफ लाइन’का रूपमा रहेको पृथ्वीराजमार्गको यो खण्डका केही ठाउँमा कामको गति अति सुस्त रहेको भन्दै उनले चाँडो सक्न निर्देशन दिए।
पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो। यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी एनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले पाएको छ।
यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ। पश्चिम खण्डको काम अत्यन्तै न्यून गतिमा भइरहेको छ। सरकारले पश्चिम खण्डको ठेक्का तोड्ने गरी छलफलसमेत गरिसकेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।