काठमाडौं : द्रौपदीलाई पाञ्चालबाट जितेर कुटीमा ल्याएपछि अर्जुनले घरभित्र रहेकी आमा कुन्तीलाई बोलाउँदै भन्छन्- माता! हामीले बहुमूल्य वस्तु ल्याएका छौं। कुन्तीले घरभित्रैबाट भनिदिइन्- पाँचै भाइले बराबरी बाँडेर लिनु।
आमाको आदेश अनुसार द्रौपदी पाँच भाई पाण्डवकी साझा पत्नी भइन्। वेदव्यासले लेखेको महाभारतको कथामा पाँच पाण्डवकी साझा पत्नी द्रौपदीले के सोचिन् खुलाइएको छैन।
तर हालै लेखिएको 'महाभारत'मा पाँच पतिकी पत्नी उनै द्रौपदीको छटपटी लेखिएको छ। आफूलाई दाजुभाइसँग भागवण्डा गर्दा द्रौपदीलाई सर्वश्रेष्ठ धनुर्धारी अर्जुनसँग सोध्न मन रहेछ 'वीर अर्जुन, यो पाञ्चाली जलपात्रको जल होइन सबैले पिउन मिल्ने।' जुन नयाँ महाभारतमा उनले भनेकी छन्। यो नयाँ महाभारत हो, उपन्यासकार निलम कार्की निहारिकाको - चीरहरण।
'चीरहरण' लेखनको कहानी लामो छ। जसको सुरुवात उनकी आमाले सानैमा सुनाउने महाभारत र रामायणमा आधारित कथाहरुबाट भएको थियो। निलमले यो विषयलाई पुस्तकका रुपमै ल्याउँछु भनेर लागेको एघार वर्ष भएछ। त्यही एघार वर्षको परिश्रम चीरहरण उपन्यास अहिले नेपाली साहित्यका दुई ठूला पुरस्कार मदन पुरस्कार र पद्मश्री पुरस्कारको 'सर्टलिस्ट'मा परेको छ।
चीरहरणको जन्म
एघार वर्षअघि कसरी आयो त चीरहरण लेख्ने सोच? निलमसँग रेडिमेड जवाफ छ 'अहिलेको समाज देखेर। परिवेश र महिलाका भोगाइहरु देखेर आयो।' यत्रतत्र सर्वत्र चीरहरणका दृष्य देख्छिन् उनी। २१ औं शताब्दीका महिलाका भोगाइहरु देखेर, भोगेर र द्वापर युगका महिलाका भोगाइ पढ्दा, सुन्दा अनि लेखिदाको समग्र रुप हो- चीरहरण।
सामान्यजनका बुझाईमा महाभारतको चीरहरण पौराणिक कथा हो। हस्तिनापुरको राजसभामा द्रौपदीको नंग्याउन खोजिएको थियो। जुन वर्तमान युगमा लागू हुँदैन भन्ने लाग्छ कतिपयलाई तर निलमलाई यस्तो लाग्दैन। उनी आजपनि द्रौपदीहरु बाटोबाटोमा देख्छिन्। उनी प्रश्न गर्छिन् 'दिनदिनै द्रौपदी भेट्नुहुन्न र? भेट्नुहु्न्छ नि हैन?' उनको अनुभव भन्छ, कति कुन्ती भेटिन्छन् यहाँ र तिनका कर्णहरु पनि। 'कर्ण त भाग्यवश बाँचे भनौं न, तर बाँच्न नपाएका कर्ण कति छन् कति।' निलमको आवाज मधुरो बन्छ 'उहिलेको द्वापर युग र आजको कलियुग- मलाई त दुरुस्तै लाग्छ।'
द्रौपदी र कुन्ती जस्ता पात्र वर्तमान विश्वका विभिन्न ठाउँमा छन्। एसियाका देशमा महिलाका दर्द समान छन्। अन्त पनि 'भोगाइहरु फरकफरक भएपनि महिलाले पाउने दुखमा समानता छ।' यीनै द्वापरयुगदेखि वर्तमान र संसारका विभिन्न भेगका फरक भोगाइ र समान पीडाले चीरहरण लेख्न प्रेरणा मिल्यो उनलाई।
महाभारतकै निरन्तरता
'हामी बाँचेको समयलाई पनि 'मिथ' सम्झिने दिन आँउछ कि!' द्वापर युगको घटना, महाभारतलाई पौराणिक कथा भन्नेहरुलाई निलमको जवाफ छ। उनी भन्छिन् 'अहिलेका महिलाका अवस्था महाभारतका महिलाको दैनिकीको निरन्तरता हो।' जसलाई चीरहरणले 'देखिरहेका घटनाहरुको ऐना देखाएको हो। समाजको ऐना देखाएको हो।'
पौराणिक कालदेखि नै समाज नारीप्रति असहिष्णु हुनुको जड नेपाली संस्कारमा पनि छ। उनको विश्लेषण छ 'संस्कारले जकडिएका हाम्रा सोंचमा नारीप्रति असहिष्णुताको जरा गडेको छ, जसलाई हामीले उखेलेरै फाल्न सकिराखेका छैनौं।'
महाभारत र चीरहरण
वेदव्यासले लेखेको महाभारतको अर्को पाटो हो चीरहरण। व्यासको महाभारतमा पुरुष पात्रहरुको वर्णन छ। त्यहाँ महिला पनि छन् तर उनीहरुले कस्तो सोच राख्छन् भन्नेमा महाभारतमा केही उल्लेख छैन। अर्थात त्यहाँ परुष पात्रहरु नै बोलेका छन्। नारी पात्र मौन छन्। व्यासको त्यही छोडिएको पाटो वा महिला पात्रहरुको वास्तविकता। उनलाई महाभारत र चीरहरण पढेका पाठकहरुले र महाभारत नपढी चीरहरण मात्र पढेका पाठकहरुको प्रतिक्रिया समान आउँछ 'व्यासको महाभारत र चीरहरण सँगै राखेर पढ्दा द्वापर युग र महाभारतको वास्तविकता बुझ्न सकिन्छ।'
महिलाका भूल, पुरुषका अपराध
निलमको थेगो छ 'भूल भयो माफ पाउँ!' उनी भन्छिन् 'मान्छेबाट भूल र अपराध हुन्छ।' समाजमा महिलाहरुले भूल र पुरुषहरुले अपराध गरेको उनले देखेकी छन्। 'महाभारतमा पुरुष पात्रहरुले अपराध गरेका छन्, 'चीरहरण'मा माफी मागेका छन्। महाभारतमा महिलाले गल्ती गरेका छन्, 'चीरहरण' मा माफी मागेका छन्' उनी निर्णायक नभइकन भन्छिन्।
गल्तीमा क्षमा हुन्छ अपराधमा दण्ड हुन्छ, क्षमा त दिइएला निलम भन्छिन् 'कसलाई के गर्ने त्यो अधिकार निर्णयकर्ताको हातमा हुन्छ।'
घरमा केही अपसकुन भयो त्यसको दोष महिलाको भाग्यलाई लगाइन्छ। त्यो परम्पराले द्वापर युगदेखि कलियुगसम्म निरन्तरता पाउँदै आएको छ। द्वापरदेखि कलियुगसम्मको प्रमाण यस्तो छ उनीसँग। द्रौपदीको चीरहरण हुनुको कारण दुर्योधनलाई 'दृष्टीविहीनको छोरा दृष्टीविहीन' भनेको भन्ने हो। त्यसको सजाय के राजसभामा नङ्ग्याउनु हुन्छ त? अम्बा अम्बालिकाले के गल्ती गरे र उनीहरुलाई स्वयंबरबाट भीष्मले हरण गरेर लगे? त्यस्तै हाम्रो घरपरिवारमै पनि केही कमजोरी भयो भने महिला र उसको भाग्यलाई दोष दिइन्छ।'
चीरहरणकी कुन्ती र द्रौपदी म नै हुँ
चीरहरणको सेटिङ पाताल लोकमा गरिएको छ। जहाँ महिलाहरुले आफ्नो आवाज भन्न सक्छन्। पुरुषहरुको पनि सम्मान हुन्छ त्यहाँ। निलमकै शब्दमा त्यस्तो बनाउनको कारण हो 'नारीलाई बोल्ने संसार बनाउनु।'
महाभारतका महिलाको मनोविज्ञानलाई उपन्यासमार्फत प्रस्तुत गर्ने क्रममा उनलाई कस्तो लाग्यो त? उनी भन्छिन्, 'आफै गान्धारी, आफै कुन्ती जस्तो लाग्यो। आफै माद्री र आफै दौपदीजस्तो लाग्यो। सबै महिला पात्र आफै जस्तो लाग्यो।'
पुरस्कार र प्रतिस्पर्धा
चीरहरण मदन पुरस्कार र पद्मश्री पुरस्कारको अन्तिम छनोटमा परेकामा उनी खुशी छिन्। 'साहित्यमा कसैको कसैसँग प्रतिष्पर्धा हुँदैन' उनको मान्यता हो यो। 'मेरो सन्दर्भमा 'अर्की आइमाइ' भन्दा चीरहरण राम्रो हुनुपर्यो र यो भन्दा अब आउने राम्रो हुनुपर्यो।' उनलाई आफ्नो कृतिको प्रतिस्पर्धा आफ्नै अघिल्लो कृतिसँग हुन्छ भन्ने लाग्थ्यो। तर, अहिले त्यसभन्दा फरक अरुका कृतिहरुसँग भइरहेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।