काठमाडौं : काठमाडौं महानगरपालिकाले तोकेको भृकुटीमण्डपको स्टलबाट फूल बिक्री नभएको भन्दै व्यापारीहरूले दुखेको पोखेका छन्।
काठमाडौं महानगरपालिकाले काठमाडौंको भृकुटीमण्डप, एयरपोर्ट–तीनकुने, हाँडी गाउँ र बालाजु भ्याली कोल्ड स्टोर छेउमा फूल बिक्रीका लागि स्थान तोकेर सो स्थानहरूबाट फूल बिक्री भइरहेको जनाएको थियो।
तर सो स्थानमा फूल बिक्री गरिरहेका व्यवसायीले भने समयमै प्रचारप्रसार हुन नसक्दा फूल बिक्रीमा गिरावट आएको बताएका छन्। भृकुटीमण्डपका फूल व्यापारीहरूले निश्चित ठाउँ तोकेर बिक्री गर्नु राम्रो भए पनि ठाउँबारे समयमै प्रचार हुन नसक्दा सोचेअनुरुप बिक्री हुन नसकेको बताएका हुन्।
व्यापारी मंगेश लिम्बूले आफूहरू मर्कामा परेको बताए। फुटपाथमा राख्नुभन्दा यहाँ व्यवस्थापन गर्नु राम्रो भए पनि विज्ञापनमा ढिलाइ गर्नाले समस्या भएको उनले बताए।
उनले भने, ‘निश्चित ठाउँ तोकिनु अत्यन्तै राम्रो। विज्ञापन १५ दिन अघि गरेको भए व्यापारी र किसानहरूलाई मर्का पर्ने थिएन। जानकारी भएको भए फूल किन्न आउनुहुन्थ्यो। यहाँ राख्नु धेरै राम्रो तर विज्ञापन गर्न ढिलाइ भयो। बाहिर फुटपाथमा राख्नु भन्दा यसरी व्यवस्थापन गरेकै राम्रो।’
त्यस्तै काभ्रे कोशीपारीबाट फूल बेच्न भृकुटीमण्डप आएका व्यापारी सुजन श्रेष्ठले भृकुटीमण्डप कोल्टे ठाउँ भएकाले फूल बेच्न ग्राहक नआएको दुखेसो गरे। उनले गाडी भाडासमेत नउठेको गरनासो गरे।
उनले भने, ‘भृकुटीमण्डप कोल्टे ठाउँ भएकोले फूल बेच्न पाएनौँ। ग्राहक आएनन्। गाडी भाडासम्म उठेन। घर जानलाई गाडी भाडासम्म छैन। उल्टै ऋण गरेर जानुपर्ने भयो। यहाँ राखेर महानगरपालिकाले धेरै नराम्रो गर्यो जस्तो लाग्छ।’
त्यस्तै ओखलढुंगाबाट फूल व्यापार गर्न आएका तेजेन्द्र विष्टले नेपाली उत्पादनको फूललाई अपहेलना गरिएको दुःखेसो गरे। उनले अझै पनि बजारीकरणको समस्या भएकाले व्यापारीले फूल खोलामा फालेर हिँड्नुपर्ने स्थिति आएको बताए।
उनले भने, ‘किसानले फूल खोलामा फालेर हिँड्नुपरेको। नेपाली उत्पादनलाई अपहेलना गरिएको छ। नेपाली उत्पादन सम्भावनाभित्र नरहेको। सरकारको ध्यान जानु आवश्यकता छ। उत्पादन भएको बजारीकरणको समस्या भएकोले किसानको दुःखदायी अवस्थामा भएको छ।’
उनले पनि फूल बिक्री स्टलको बेलैमा प्रचारप्रसार नभएकोले बिक्री हुन नसकेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।