सुदूरपश्चिम : धनगढी उपमहानगरपालिका क्षेत्रमा सङ्कलन हुने कुहिने फोहरबाट ‘बायो मिथेन ग्यास’ उत्पादन गर्न थालिएको छ।
उपमहानगरपालिकाबाट फोहरमैला व्यवस्थापनको ठेक्का पाएको देव तालिम केन्द्रले वडा नं २ मा स्थापना गरिएको फोहरमैला प्रशोधन केन्द्रमा कुहिने फोहरबाट ग्यास उत्पादन गर्न सुरु गरेको हो।
प्रशोधन केन्द्रलाई हाल ५० प्रतिशत क्षमतामा चलाएर जैविक मलका साथै बायो मिथेन ग्यास उत्पादन सुरु गरिएको तालिम केन्द्रका सञ्चालक रविनकान्त पन्तले बताए। उनले भने, “उत्पादित ग्यास र मल हाल मौज्दात राखिरहेका छौँ, व्यावसायिक उत्पादनपछि बजारमा पठाउँछौँ।”
प्रशोधन केन्द्रबाट नगरपालिका क्षेत्रमा दैनिक जम्मा हुने कुहिने फोहरका साथै कुखुराको सुली, गोबर, चिनी मिलमा जम्मा हुने फोहरमैलाजस्ता पदार्थ प्रयोग गरेर बायो मिथेन ग्यास उत्पादन गर्न थालिएको हो।
प्रशोधन केन्द्र पूर्ण क्षमतामा सञ्चालन भएमा दैनिक एक सय सिलिण्डर ग्यास, तीन हजार पाँचसय किलो जैविक मल र एक हजार पाँच सय किलो झोल मल उत्पादन हुने बताइएको छ। पर्यावरणीय प्रदूषण लगभग शून्य हुने यो ग्याँसले बढ्दै गएको कार्बन उत्सर्जनको समस्यालाई घटाउन भूमिका खेल्ने बताइएको छ।
पाइपलाइनको प्रयोग गरेर दैनिक सात/आठ सय घरपरिवारमा यो ग्यासबाट खाना पकाउन सकिने र सिलिण्डरमा ग्यास भरेर औद्योगिक प्रयोगमा ल्याउन पनि सकिने बताइएको छ।
खाना पकाउन प्रयोग भइरहेको एलपी ग्यासको मूल्यको तुलनामा यो ग्यासको मूल्य सुपथ रहने बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।