|

काठमाडौँ : सरकारले अर्थतन्त्रको समस्यालाई छिटो छरितो तवारबाट तत्काल समाधान गर्न छलफल गरेको छ।

सोमवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री पुृष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, गभर्नर महाप्रसाद अधिकारीलगायत सम्बन्धित पदाधिकारीहरुबीच छलफल गरी अर्थतन्त्रका वर्तमान समस्या छिटो समाधान गर्नुपर्नेमा जोड दिइएको हो।

बैठकपछि सञ्चारकर्मीसँग अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको समस्या छिटो र छरितो रुपमा समाधान गर्ने बारेमा छलफल भएको बताए। उनले अर्थतन्त्रलाई अझ चलायमान बनाउन सुझाव लिन मंगलवार सिंहदरबारमा पुनः बैठक बस्ने पनि बताए।

उनले बैठकमा आफूले आन्तरिक संरचनाका उपलब्धि, चुनौती र कार्यदिशा प्रस्तुत गरेको बताए। उनले अर्थतन्त्रका सम्बन्धमा प्रधानमन्त्री र गभर्नरले पनि आफ्ना धारणा राखेको र मंगलवारको बैठकमा निजी क्षेत्रसँग पनि छलफल हुने बताए। उनले देशको अर्थतन्त्रले लय समातिरहेको र बाह्य विप्रेषण, पर्यटक आगमन, शोधनान्तरको स्थितिमा सुधार हुँदे गएको बताए।

उनले भने, ‘अर्थतन्त्रका समस्या कसरी समाधान गर्ने भन्ने बारेमा छलफल भयो। कसरी छिटो र छरितो रुपमा समाधान गर्न सकिन्छ आन्तरिक छलफल गर्‍यौं। साथै समग्र अर्थतन्त्रलाई अझ चलायमान बनाउन अरु के सुझाव, सल्लाह लिन सकिन्छ भनेर भोलि २ बजे प्रधानमन्त्री कार्यालयमा बैठक राखिएको छ। त्यसमा निजी क्षेत्र र विज्ञहरुको सुझाव लिनेबारे छलफल हुनेछ‚’ उनले भने‚ ‘आज आन्तरिक संरचनामा के उपलब्धि भयो, के चुनौती र कार्यदिशा कसरी अघि बढिरहेको छ भन्नेबारे मैले आफ्नो कार्यदिशा प्रस्तुत गरेँ‚ गर्भनर र अन्य सम्बन्धित पक्षले पनि कुरा राख्नुभयो। प्रधानमन्त्रीले पनि कुरा राख्नुभयो।’

अर्थमन्त्री महतले अर्थतन्त्र छिटो भन्दा छिटो चलायमान बनाएर देशमा थप रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा पनि छलफल भएको बताए।उनले समग्रमा अर्थतन्त्रले लय पक्डिँदै गरेको‚ बाह्य विप्रेषण‚ पर्यटक आगमन, शोधनान्तरको स्थितिमा राम्रो स्थितिमा पुगेको पनि उल्लेख गरे।

‘आन्तरिकतर्फ केही शिथिलता थियो, त्यसमा पनि छलफल भयो। अर्थतन्त्रलाई अझ चलायमान बनाउन गर्ने कुरामा अझै समय लाग्छ, चुनौती छ तर छिटोभन्दा छिटो चलायमान बनाएर रोजगारी कसरी सिर्जना गर्ने भन्नेबारे छलफल भयो‚’ उनले भने‚ ‘ऋण लिएकाहरुले ऋण तिर्नुपर्छ तर त्यसलाई कसरी सहज र समय दिने भन्ने बारेमा पनि छलफल गरेका छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.