|

काठमाडौँ : नेपालका नुर्बु थेन्डुप शेर्पाले आइबा विश्व जुनियर बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

यही नोभेम्बर २३ देखि डिसेम्बर ४ सम्म आर्मेनियाको येरेभानमा जुनियर विश्व च्याम्पियनसिप हुँदै छ। सो च्याम्पियनसिपमा नेपालका युवा बक्सर नुर्बु १६ वर्षमुनि उमेरसमूहको ७० केजी तौलसमूहमा सहभागी हुन लागेका हुन्।

त्यसका लागि एक खेलाडीसहित दुई सदस्यीय नेपाली टोली सोमवार आर्मेनियाको येरेभान प्रस्थान गरेको छ। नुर्बुको यो अन्तरराष्ट्रिय प्रतियोगितामा ‘डेब्यु’ पनि हो। उनको प्रशिक्षकमा लालबहादुर पौडेल छन्। 

सोमवार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ र नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतले नेपाली टोलीलाई बिदाइ गरे। 

सो अवसरमा बक्सिङ महासंघका उपाध्यक्ष ओमनारायण श्रेष्ठले प्रतियोगितामा नुर्बुलाई एक ‘बाउट’ जितका लागि २५ हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरे।

श्रेष्ठले सोही अवसरमा गत असोजमा चीनको हाङचाउमा सम्पन्न १९औं एशियाली खेलकुदको बक्सिङमा एक ‘बाउट’ मा जित हात पारेका रविन थापालाई प्रोत्साहनस्वरूप पूर्वघोषित १० हजार रुपैयाँ नगद पुरस्कार पनि प्रदान गरे। 

एशियाली खेलकुदमा रविनले पुरुष ५१ केजीको पहिलो चरणमा इण्डोनेसियाका खेलाडीलाई पराजित गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.