|

काठमाडौँ : अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालमा कार्बन उत्सर्जन शून्यमा झार्न कुनै कठिनाइ नरहेको बताएका छन्। ​मंगलवार काठमाडौंमा आयोजना भएको राष्ट्रिय जलवायु सम्मेलनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन्। 

कार्बन उत्सर्जन कम गर्न नेपालको ४५ प्रतिशत वन जङ्गल बनाएको विषयलाई विश्वले प्रशंशा गर्नुपर्ने उनले बताए। उनले नेपालले जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गर्न ४५ प्रतिशत भूभागलाई जङ्गलमा परिणत गरिरहेको बताए। 

अर्थमन्त्री महतले कार्बन उत्सर्जन कम गर्न सवारीसाधनसमेत विद्युतीयमा परिमार्जन भइरहेको उल्लेख गरे। उनले सन् २०४५ भित्र विशुद्ध रुपमा कार्बन उत्सर्जन शून्य बनाउने लक्ष्यमा विश्वलाई कुनै शंका नराख्न आग्रह गरे।

उनले नेपालका हिमालको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले भएको भन्दै विकसित मुलुकहरुले जलवायु परिवर्तनले पारेको असर न्यूनीकरण गर्नको लागि आर्थिक सहयोग गर्नुपर्ने बताए।

उनले जलवायु परिवर्तन न्यूनीकरणका लागि विभिन्न फण्डहरुबाट पाउनुपर्ने सबै सहयोग नेपालले पनि पाउनुपर्ने माग कोप सम्मेलनमा राखिने बताए।

उनले भने, ‘नेपालको ४५ प्रतिशत जमिनमा जङ्गल स्थापित गरिसकेका छौं। सन् १९९० देखि ३० प्रतिशत रहेकोमा अहिले ४५ प्रतिशत पुर्‍याएका छौं। नेपालले अक्सिजन धेरै उत्पादन गर्ने र कार्बन उत्सर्जन कम गरिरहेका छौं‚ यसलाई विश्वले प्रशंसा गर्नुपर्छ। अहिले नेपालको जलवायुसम्बन्धी चुनौती भनेको कार्बन उत्सर्जन शून्य बनाउन सक्छ कि सक्दैन भन्ने होइन‚ त्यो नेपालले गर्छ र नेपालले एक्सनबाट नै बताइसकेका छौं। कार्बन उत्सर्जन कम गर्न सवारीसाधनसमेत विद्युतीयमा परिमार्जन भइरहेका छन्। अहिले विद्युतीय सवारीसाधनको माग उच्च छ। त्यसैले नेपालले राखेको सन् २०४५ भित्र विशुद्ध शून्य उत्सर्जनमा पुग्ने लक्ष्य कुनै शंका छैन। नेपालले एक्सन र तथ्याङ्कबाट प्रमाणित गर्छ।’

उनले नेपालले जलवायु परिवर्तनको कारण भोगिरहेको समस्या कार्बन उत्सर्जन शून्य बनाउँदैमा मुक्त नहुने भन्दै अन्य विकसित देशले पनि पूरा गर्न आवश्यक रहेको बताए। उनले विकसित देशले उत्सर्जन गरेको कार्बनका कारण भएको जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको बताए।

‘नेपालले कार्बन उत्सर्जन शून्य बनाउँदैमा जलवायु परिवर्तनको प्रभावबाट नेपाल मुक्त हुन्छ कि हुँदैन? विकसित देशहरुले त्यो पूरा गर्नुपर्छ। हामी पूरा गर्न सक्छौं र गर्छौं‚ अरु देशले पनि प्रतिबद्धता पूरा गर्नुपर्छ‚‘ उनले भने‚ ‘विकसित देशले उत्सर्जन गरेको कार्बनबाट नेपालले समस्या भोगिरहेको छ। नेपालका हिमालको हिउँ पग्लिएको नेपालले कार्बन उत्सर्जन गरेको कारणले नभएर अन्य देशको कारणले हो। विकसित मुलुकहरुले जलवायु परिर्वतनमा पारेको असर न्यूनीकरण गर्नको लागि सहयोग चाहियो। नेपालमा जलवायु परिर्वतनले पारेको असर न्यूनीकरण गर्ने दाता एजेन्सीबाट सहयोग लिएर नेपालमा रिपोर्ट मात्रै बनाउनेभन्दा पनि अब यकिन कार्यक्रम ल्याउनपर्छ।’

उनले सन् २०३० भित्र नेपालको कुल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने गरी नेपालमा जलविद्युतमा लगानी भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.