‘शिक्षा नीति ल्याएर विद्यार्थीलाई देशमै राखिनेछ’
‘शिक्षा नीति ल्याएर विद्यार्थीलाई देशमै राखिनेछ’
काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको शिक्षा प्रणालीलाई सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिँदै शिक्षा नीति परिवर्तन गरेर भए पनि युवा विद्यार्थीलाई देशमै राख्ने बताएका छन्।
मंगलवार काठमाडौंमा एशिया अन्तरराष्ट्रिय पुस्तक प्रदर्शनीको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। उनले उच्च शिक्षाका निम्ति वर्षेनि लाखौँ विद्यार्थी विदेशिने परिस्थितिले देशको शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक देखिएको बताए।
उनले शिक्षा क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीहरुको विदेश पलायन रहेको बताए। उनले विद्यार्थी देशबाहिर पढ्न जाने र नेपालका विद्यालय तथा विश्वविद्यालय खाली हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी विदेश पलायन रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको बताए।
‘देशको समग्र शिक्षा प्रणालीलाई कसरी सरल, सहज, जीवनउपयोगी र आत्मनिर्भर बनाउन सकिन्छ? भन्ने सवाल आजको हाम्रो देशको महत्वपूर्ण सवाल रहेको छ। उच्च शिक्षाका निम्ति वर्षेनि लाखौँ विद्यार्थी विदेशिने परिस्थितिले हाम्रो शिक्षा प्रणाली, संरचना, पाठ्यक्रम र कार्यशैलीमा गुणात्मक परिवर्तन आवश्यक रहेको देखाएको छ‚’ उनले भने‚ ‘यसै अवस्थालाई मध्यनजर गर्दै सरकारले विद्यालय शिक्षा विधेयक संसदमा प्रस्तुत गरिसकेको छ। शैक्षिक क्षेत्रमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या युवा विद्यार्थीको विदेश पलायन हो भन्ने बुझेका छौँ। विद्यार्थी देशबाहिर पढ्न जाने, यता देशका विद्यालय तथा विश्वविद्यालय खालि हुँदै जाने गम्भीर स्थितिलाई छिटै सम्बोधन गरी पलायन रोक्नु आजको सबैभन्दा ठूलो चुनौती बनेको छ।’
प्रधानमन्त्री प्रचण्डले शिक्षा नीतिलाई युवाउपयोगी बनाएर नेपाली विद्यार्थीलाई देशकै विद्यालय, विश्वविद्यालयमा अध्ययन गर्न प्रोत्साहन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले विदेशी विद्यार्थीलाई नेपालका विद्यालयमा अध्ययन गर्न आकर्षित गर्ने शिक्षा प्रणाली लागू गर्नुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।