|
फाइल फोटो

पर्वत : कास्कीको पोखरा महानगरपालिका–२९ पटनेरीमा माछा मार्ने क्रममा सोमबार एक दम्पतीले ज्यान गुमाए।  

खेतमा पानी लैजाने कुलोमा माछा मार्न करेन्ट लगाउँदा मुस्ताङको जोमसोम घर भई हाल पोखरास्थित पटनेरीमा डेरा गरी बस्दै आएका ४६ वर्षीय भीमलाल सुनार र उनकी श्रीमती ४६ वर्षीया सावित्री सुनारको मृत्यु भयो।

प्रहरी टोलीले उनीहरूलाई सोमबार साँझ उद्धार गरी उपचारक लागि पश्चिम क्षेत्रीय अस्पताल पठाए पनि उनीहरूलाई बचाउन सकिएन। 

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङका अनुसार पछिल्ला चार वर्षमा यसरी नै माछा मार्ने क्रममा १५ जनाको मृत्यु भएको छ।

करेन्ट लगाई माछा मार्ने क्रममा आर्थिक वर्ष ०७७/०७८ मा स्याङजामा एक जना र तनहुँमा एक जना गरी दुई जनाको मृत्यु भएको छ। सोही वर्षमा तनहुँमा करेन्ट लगाएर माछा मार्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

आर्थिक वर्ष ०७८/०७९ मा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा माछा मार्ने क्रममा लागेको करेन्टबाट सात जनाको मृत्यु भएको छ। त्यस्तै आर्थिक वर्ष ०७९/०८० मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व) पूर्व र स्याङ्जामा गरी दुई जनाको मृत्यु भएको थियो भने तीन जना पक्राउ परे।

चालू आर्थिक वर्ष ०८०/०८१ मा हालसम्म पर्वत, स्याङ्जा, तनहुँ र कास्कीमा गरी पाँच जनाको मृत्यु भएको छ भने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

गण्डकी प्रदेश भौगोलिक तथा प्राकृतिक हिसाबले धेरै खोलानाला भएको प्रदेशको रूपमा परिचित छ। गण्डकी प्रदेशलाई यहाँका खोलानाला तथा ताल तलैयाहरूले प्राकृतिक रूपमा सुन्दरता बढाए पनि गण्डकी प्रदेश प्रहरीलाई भने मानवीय क्षति न्यूनीकरणको चुनौती सामना गर्नु परेको छ। 

विगत केही वर्षदेखि गण्डकी प्रदेशमा पनि करेन्ट लगाई माछा मार्ने क्रम बढ्दो देखिएको छ। यसैको परिमाण स्वरूप चार वर्षमा १५ जनाको मृत्यु भएको छ भने १३ जना पक्राउ परिसकेका छन्। करेन्ट लगाएर माछा मार्नु गैर कानुनी भए पनि कतिपय स्थानमा लुकीछिपी यस्ता कार्यहरू हुन नछाड्दा मानवीय क्षतिको जोखिम रहेको छ। 

यसको नियन्त्रण तथा रोकथामका लागि कानुनी व्यवस्था नभएको पनि होइन। तर कानुनको अध्ययन नगर्ने तथा थाहा पाएर पनि गैरकानुनी रूपमा करेन्ट लगाएर माछा मार्ने क्रम रोकिएको छैन। जलचर संरक्षण ऐन, २०१७ को दफा ३ अनुसार कुनै व्यक्तिले सार्वजनिक जलमा रहेको कुनै जलचरलाई समात्ने तथा मार्ने अभिप्रायले जानीजानी जलको आसपासमा विद्युतीय धार प्रवाह (करेन्ट) गर्न वा विस्फोटक पदार्थ वा विषालु पदार्थको प्रयोग गर्न पाइँदैन।

यदि कोही कसैले यो कानुन उल्लङ्घन गरेमा वा दुरुत्साहन गरेमा स्थानीय अधिकारीको आदेशले कसुरको मात्रा हेरी हानी नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति गराई छ महिनासम्म कैद वा पाँच हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.