तनहुँ : तनहुँमा डेंगुका विरामीको संख्या ७ हजार ९५ पुगेको छ।
केही महिनाअघि फैलिएको डेंगु अझै नियन्त्रणमा आउन सकेको छैन। डेंगुका विरामी बढेसँगै यहाँका अस्पताल र औषधि पसलहरुमा बिरामीको चाप दैनिक बढ्दै गएको छ।
तनहुँका १० पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा ५ हजार ७९५ जना डेंगुका विरामी रहेको स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए। उनका अनुसार जिल्लाका अन्य ९ पालिकामा डेंगुका विरामीको संख्या १ हजार ३ सय रहेको छ।
१४ वडा रहेको व्यास नगरपालिकाको वडा नं १ मा १ हजार ५८२ जना, वडा नं २ मा १ हजार ३९२ जना, वडा नं ४ मा १ हजार ३७ जना, वडा नं ३ मा ६५२ जना र वडा नं ५ मा २७२ जना डेंगुका विरामी रहेका छन्।
व्यास नगरपालिकाको वडा नं १० मा २०६ जना, वडा नं ११ मा १७५ जना, वडा नं ६ मा ९६ जना, वडा नं १३ मा ९१ जना, वडा नं ९ मा ८३ जना, वडा नं ७ मा ७९ जना, वडा नं १२ मा ७४ जना, वडा नं १४ मा ३७ जना र वडा नं ८ मा १४ जना डेंगुका विरामी रहेका छन्।
चाडपर्वका वेला डेंगुले जनजीवन प्रभावित बनाएको व्यास–२ का वडाध्यक्ष काशिराम श्रेष्ठले बताए। चिकित्सकले डेंगुबाट जोगिन सुत्दा झूलको प्रयोग, पूरा बाउला भएको कपडा लगाउने र घर वरिपरि पानी जम्न नदिन सुझाव दिएका छन्।
लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको दमौली अस्पतालका प्रमुख डा परिवर्तन बरालले बताए। चिकित्सकको परामर्शअनुरुप औषधी सेवन गर्न, झोल खानेकुरा प्रशस्त पिउन, फलफूल खान र आराम गर्न उनले सुझाव दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।