काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै दबाबमुक्त नरहेको बताएका छन्।
मंगलवार सिंहदरबारमा राजनीतिक दल, निजी क्षेत्र र सरोकारवाला निकायसँग वर्तमान अर्थतन्त्रका समस्या र समाधानबारेको छलफलमा बोल्दै उनले अर्थतन्त्रका कयौँ सूचकहरू सकारात्मक रहे पनि अर्थतन्त्र दबाबमुक्त भइनसकेको बताए।
अर्थतन्त्रका समस्या समाधानका लागि अझै गहन विमर्श हुन जरुरी रहेको उनले बताए।
उनले भने, ‘नेपालको अर्थतन्त्रको वर्तमान अवस्था के छ र अगाडि कसरी जाने भन्ने सन्दर्भमा सरकारले सोचिरहेको छ। गत सालबाट यहाँसम्म आउँदा अर्थतन्त्रका कयौँ इण्डिकेटरहरू सकारात्मक देखिएका छन् तर अर्थतन्त्र दबाबमुक्त भयो भन्ने ठाउँमा अझै पुगिएको छैन। त्यसकारण यसलाई हामीले गम्भीर विमर्शसहित समुचित निष्कर्षमा पुग्नुपर्ने आवश्यकता छ। धेरै चिन्तित हुनुपर्ने छैन भन्ने पनि छ, अर्कोतिर धेरै नै गम्भीर स्थितिमा छौँ भन्ने छ। सबै मिलेर यसको सामना नगर्ने हो भने संकट गहिरिँदै जानेछ।’
प्रधानमन्त्री दाहालले सहकारी, लघुवित्त, बैंक ब्याज, व्यवसायीको कर्जासम्बन्धीका समस्या विगतमा विभिन्न कारणले पैदा भए पनि एक थरीले यो समस्या देखाएर राजनीतिक फाइदा उठाउने प्रयास गरिरहेको बताए।
उनले समाजमा अविश्वास र अराजकता फैल्याउने प्रयास भइरहेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।