|

काठमाडौँ : माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म तोकेको निषेधित क्षेत्रविरुद्ध मंगलवार दुई रिट दर्ता भएका हुन्।

सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञाको निर्णयविरुद्ध सर्वोच्चमा अधिवक्ता स्वागत नेपाल र अधिवक्ता प्रेमराज सिलवालले छुट्टाछुट्टै रिट दर्ता गरेको जानकारी दिए। उक्त रिटमाथि भोलि (बुधवार) प्रारम्भिक सुनुवाइका लागि पेसी तोकिएको छ।

यही मंसिर ७ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा एउटा पक्ष र राष्ट्रिय युवा संघको अगुवाइमा अर्को पक्षले प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डला आसपास निषेधित क्षेत्र घोषणा गरेको हो।

शान्ति सुरक्षा कायम गर्नका लागि जिप्रका काठमाडौंले सोमवारदेखि नै लागू हुने गरी ३० दिनसम्म पद्मोदय मोडदेखि नयाँ बानेश्वर चोकसम्म जुलुस निकाल्न र विरोध प्रदर्शन गर्न रोक लगाएको हो।

जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिश समेतका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम देहायको क्षेत्रमा यही मंसिर ४ गतेदेखि ३० दिनसम्मका लागि ५ जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.