काठमाडौं : शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तत्कालै भूकम्प प्रभावित विद्यालयहरूमा पाठ्यपुस्तक उपलब्ध गराउने जनाएको छ।
भूकम्पबाट पुरिएका पाठ्यपुस्तकको विवरण आएपछि सम्बन्धित ठाउँमा तत्कालै पाठ्यपुस्तक पुर्याउने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक दीपक शर्माले प्रतिबद्धता जनाए।
विकास केन्द्रसँग आवश्यक पुस्तक रहेको भन्दै यसमा कुनै समस्या नपर्ने उनको भनाइ छ। ‘हामीले के-कति पाठ्यपुस्तकमा क्षति पुग्यो भनी विवरण प्रदेश सरकार र स्थानीय तहलाई मागेका छौँ, उपलब्ध हुनेबित्तिकै पुस्तक उपलब्ध गराउँछौँ,’उनले भने।
भूकम्पबाट प्रभावित सबै विद्यालयहरूमा अस्थायी सिकाइ केन्द्र निर्माण गरि छिटो पठनपाठन थाल्न प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरिरहेको पनि उनले बताए।
कात्तिक १७ गते शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा मानवीय क्षतिसँगै विद्यालयहरूमा पनि क्षति पुगेको थियो।
कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार उक्त भूकम्पबाट ६ सय कक्षा कोठामा पूर्ण क्षति भएको छ भने ८ सय कक्षा कोठामा आंशिक क्षति पुगेको छ। भूकम्पका कारण घर भत्किएर कयौँ विद्यार्थीको पुस्तक पुरिएको छ। जसले गर्दा पढाइमा उनीहरूलाई समस्या भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।