काठमाडौं : सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्विकार गरेको छ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले मंगलबार सुनुवाइ गर्दै विपक्षीको माग बमोजिम अन्तरिम आदेश दिन अस्विकार गरेको हो।
इजलासले कारण देखाउ आदेश जारी गर्दै प्रतिबन्ध लगाउनुको कारणबारे सरकारसँग लिखित जवाफ माग गरेको छ। मंसिर १५ गतेभित्र लिखित जवाफ पेश गर्ने आदेश भएको अदालतका सूचना अधिकारी गोबिन्द घिमिरेले बताए।
संक्षिप्त आदेशको पूर्णपाठ बुधबार आउने उनले जानकारी दिए। घिमिरेका अनुसार रिटको पूर्ण सुनुवाइका लागि मंसिर १९ गते पेशी तोकिएको छ।
टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय खारेजीको माग गर्दै मङ्सिर १ गते सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता त्रिलोकबहादुर चन्द, प्रेम सिलवाल, अनन्तराज लुइँटेल, डा।सुनिलरञ्जन सिंह, यज्ञमणि न्यौपाने र फर्सुराम पाण्डेलगायतले रिट दायर गरेका थिए।
गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। बैठकको निर्णयसँगै नेपालका अधिकांश इन्टरनेट सेवा प्रदायकले टिकटक नचल्ने बनाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।