काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्याउने कामलाई मुख्य प्राथमिकता दिएको बताएका छन्।
मंगलवार काठमाडौँमा आयोजित ‘विस्तृत शान्ति सम्झौताको १८ वर्षः अधुरो संक्रमणकालीन न्याय प्रक्रियाको ठोस समाधान’ विषयक अन्तरसंवादमा बोल्दै उनले सरकारको पहिलो प्राथमिकता र प्रतिबद्धता शान्ति प्रक्रियाको बाँकी कामलाई निष्कर्षमा पुर्याउनु रहेको बताएका हुन्। मन्त्री बस्नेतले मुलुकमा पीडित भइराखेकाले उक्त प्रक्रियालाई टुंगोमा पुर्याउने काममा ढिलाइ गर्न नहुने पनि बताए।
उनले सत्यको खोजी मात्रै गरेर बस्दा शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउने कुरामा अब पनि धेरै समय बित्ने भएकाले सम्बन्धित सबै पक्षले यसलाई टुंग्याउने गरी बहस र छलफल केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याए।
मन्त्री बस्नेतले भने, ‘अहिले शान्ति प्रक्रियालाई टुंग्याउने विषय सरकारको प्राथमिकताको विषय हो। यो प्रमुख प्राथमिकतामध्येको एक हो। शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्याउने सरकारको प्राथमिकता र प्रतिबद्धता रहँदै आएको छ। यसलाई जतिसक्दो छिटो टुंग्याउनुपर्छ। यसले मुलुक भिक्टिम भइराखेको छ। त्यसैले यसलाई टुंग्याउनेतिर जाऊँ।’
मन्त्री बस्नेतले मुलुकलाई द्वन्द्वको घाउबाट पूर्ण रूपमा मुक्त गराउन पनि शान्ति प्रक्रियाको बाँकी कामलाई पूर्णता दिने कामलाई तीव्रता दिनुपर्ने बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।