|

काठमाडौँ : नेपालका आदिवासी जनजातिसम्बद्ध संघ-संस्थाहरूले सामाजिक सद्भाव कायम राख्दै ऐतिहासिक परिवर्तनको रक्षा गर्न आग्रह गरेका छन्। 

आज काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गर्दै १७ वटा आदिवासी जनजातिसम्बद्ध संघसंस्थाहरूले धर्मनिरपेक्षता, संघीयता, गणतन्त्र र लोकतन्त्रको रक्षाका लागि आह्वान गर्दै यसका विरुद्ध भइरहेका अवाञ्छित गतिविधिमाथि रोक लगाउन माग गरेका हुन्। 

नेपाल आदिवासी जनजाति महासंघको नेतृत्वमा गरिएको कार्यक्रममा विभिन्न समयमा नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धि भत्काउन पछिल्लो समय केही देशी-विदेशी शक्तिहरू लागिपरेको भन्दै उनीहरूले संघर्षपूर्ण उपलब्धिको रक्षाका निम्ति समयमा सचेतपूर्ण ढंगले लाग्न सबैलाई आग्रहसमेत गरेका छन्। 

नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले गणतन्त्रमाथि कसैले धावा बोल्न नपाइने भन्दै रगतको बलिदानी दिएर ल्याएको परिवर्तन भत्काउने कार्यका विरुद्ध एकजुट हुन आग्रह गरे।

परिवर्तनका विरुद्ध लाग्नेहरुलाई खबरदारी गर्न उनीहरुले कार्यक्रमसमेत घोषणा गरेका छन्। मंसिर २३ गते दाङमा र मंसिर ३० गते काठमाडौँमा बृहत सभाको आयोजना गरिने मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनले बताए। 

जनताको बलिदानीपूर्ण ऐतिहासिक आन्दोलनबाट प्राप्त उपलब्धि राजसंस्था र हिन्दु राष्ट्रका नाममा भत्काउने प्रयास भइरहेको भन्दै त्यसको रक्षाका निम्ति सबै सचेत हुन नेपाल आदिवासी जनजाति महासंघका महासचिव दिवश राईले अनुरोध गरेका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.