|

सर्लाही : नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको हरिपुर नगरपालिका–८ जुटपानीमा मंगलवार अपराह्न भएको दुर्घटनामा एकजना विद्यार्थीको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका छन्। 

लालबन्दी–१ नवलपुरस्थित जेआईसी बोर्डिङ स्कुलको बसले किच्दा सो विद्यालयको एलकेजीमा अध्ययनरत हरिपुर नगरपालिका–८ स्थायी घर भई लालबन्दी नगरपालिका वडा नं २ मा बस्ने वीरेन्द्र पासवानका ६ वर्षीय आदित्य पासवानको मृत्यु भएको हो। 

प्रत्यक्षदर्शीका अनुसार आदित्यलाई बसबाट ओरालेर बस अगाडि बढाउँदा बसले उनलाई किचेको थियो। दुर्घटनापछि स्थानीयवासीले जुटपानीमा नवलपुर–मलङ्गवा सडक अवरुद्ध गरेका छन्। 

स्थानीयलाई सम्झाइबुझाइ गरेर यातायात पुनः सञ्चालन गर्ने प्रयास भइरहेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) प्रवीण धितालले बताए। 

जुटपानीस्थित हरिपुर र लालबन्दी नगरपालिकाको सीमामा भएको उक्त दुर्घटनामा सिकिस्त भएका आदित्यलाई उपचारका लागि स्वाभिमान अस्पताल बर्दिबास लैजाँदा चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ। 

दुर्घटनामा संलग्न स्कुल बस र चालकलाई इलाका प्रहरी कार्यालय लालबन्दीले नियन्त्रणमा लिएको छ। दुर्घटनालगत्तै सिकिस्त आदित्यलाई उपचारका लागि स्कुलकै बसमा बर्दिबासस्थित स्वाभिमान अस्पताल लगिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.