|

कावासोती : पूर्वी नवलपरासीको कावासोतीमा मोतियाविन्दुको तीनदिने निःशुल्क शल्यक्रिया शिविर आयोजना भएको छ। केही महिनाअघि स्थानीय तहमा आँखाको निःशुल्क जाँच गर्दा समस्या देखिएका बिरामीका आँखाको आइतवार शल्यक्रिया गरिएको हो। 

हुप्सेकोट गाउँपालिका–१ की ८४ वर्षीया अम्बिका पाण्डेले मोतियाविन्दुको निःशुल्क अप्रेसन गर्न पाउँदा खुशी लागेको बताइन्। 

उनले भनिन्, ‘आँखा देख्न नसक्दा समस्या भएको थियो। उमेर ढल्केपछि यसै पनि आँखा देखिँदैन तर मेरो त मोतियाविन्दु भएकाले देख्न नसक्ने भएकी थिएँ। अप्रेसनपछि आँखा देख्न सक्ने भएकी छु‚ खुशी लागेको छ।’

तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब र मध्यबिन्दु आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा तीनदिने निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर सञ्चालन गरिएको हो।

मध्यविन्दु-१५ का रामसरिया थारुले पनि ८० वर्षको उमेरमा फेरि आँखा देख्न पाउँदा संसारै उज्यालो भएको बताए। उमेरले नै आँखा नदेख्ने, कान नसुन्ने र अरु काम गर्न नसक्ने समयमा आँखा नदेख्दा धेरै अप्ठेरो भएको गुनासो उनको थियो। 

उनले भने, ‘नगरपालिकाले नै आवतजावतका लागि सवारीसाधन उपलब्ध गरायो, धेरै प्रभावकारी भएको छ।’

तिलगंगा आँखा प्रतिष्ठान प्राविधिक संयोजक अनु मानन्धरको नेतृत्वमा १५ जनाको समूह तथा डा. सरोज देवकोटाको संयोजकत्वमा भएको उक्त शिविरमा ५ सय जनाले मोतियाविन्दुको शल्यक्रियाका लागि नाम लेखाएका छन्। 

पहिलो दिन आज (आइतवार) १ सय जनाभन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया निःशुल्क गरिएको संयोजक देवकोटाले बताए। 

तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, तथा रोट्र्‍याक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्रलगायत विभिन्न संस्थाको सहयोगमा कावासोती-१६ डण्डास्थित अग्यौली पुस्तकालयमा तीनदिने निःशुल्क मोतियाविन्दुको शल्यक्रिया शिविर शुरु भएको हो।

ग्रामीण भेगमा मोतियाविन्दुका बिरामीको संख्या बढ्दै जाँदा उपचारका लागि मोतियाविन्दुको निःशुल्क शल्यक्रिया शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरिहर अधिकारीले बताए। 

आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशतमा मोतियाविन्दु देखिएको र यसको उपचार शल्यक्रिया मात्र भएकाले ग्रामीण भेगमा आँखा परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा मोतियाविन्दुका बिरामी बढेको संस्थापक अध्यक्ष रोटरियन भरत शर्मा पोख्रेलले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.