|
अल जजिरा

हमासले आइतबार बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको छ। आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई हस्तान्तरण गरेको जनाएको हो।​

अस्थायी युद्ध विरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात विदेशी नागरिकसमेत १३ जना रिहा हुने बताएको थियो। 

यसअघि इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स (ट्वीटर) अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो। 

यससँगै इजरायलले समेत थप ३९ जना प्यालेस्टिनी बन्दी रिहा गरेको जनाएको छ। इजरायली जेलबाट मुक्त भएर प्यालेष्टाइन पुगेपछि उनीहरू हर्षित भएका छन्। उनीहरूका आफन्तले उनीहरूलाई युद्धका बीच न्यानो स्वागत गरेका छन्। 

कतारले मध्यस्थता गरेको इजरायल–हमासबीचको चार दिने अस्थायी युद्धविराम र बन्दी साटफेर गर्ने सम्झौताअन्तर्गत हमासले छाड्ने इजरायली बन्धकहरूको तेबर संख्यामा इजरायलले प्यालेस्टिनी बन्दी छाड्ने गरेको छ। 

शुक्रबार बिहानदेखि युद्धविराम लागू भएपछि १३ महिला र बालबालिका बन्धकहरूको पहिलो समूह इजिप्ट हुँदै इजरायलतर्फ फर्किएको थियो।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.