बिर्तामोड : पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेको पृथ्वीनारायण शाहको सालिकमा ‘श्री ५’ लेखिएको अनावरण शिलालेख हटाइएको छ।
बिर्तामोड–१ स्थित इकम कलेजमाथि प्रशासनले कारबाही प्रक्रिया अघि बढाएपछि कलेजले उक्त अनावरण शिलालेख हटाएको हो।
शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले स्पष्टीकरण सोधेका थिए। त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको हो। सो कलेजको दर्ता खारेजीका लागि प्रक्रिया पनि अगाडि बढेको बताइएको छ।
कलेजले वहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहलाई सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भए जसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ लेखिएको शिलालेख राखेको थियो।
इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताए।
उनले इकम कलेजलाई स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताए। चौतर्फी विरोधपछि इकम कलेजले प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको थियो। कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन्।
सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीईओ आलोक कार्कीले बताए। अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्वराजा भनेर लेखिने जानकारी उनले दिए।
कलेजले गएको शनिवार पूर्वराजा ज्ञानेन्द्रबाट सालिक अनावरण गराएको थियो। ८ वर्षदेखि सञ्चालनमा रहेको सो कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायमा अध्यापन गराउँदै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।