|

चितवन : कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयू) मा कृषि विषय अध्ययन गर्ने विद्यार्थी घटेका छन्। केही वर्षयता कतिपय आंगिक क्याम्पस र सम्बन्धन प्राप्त निजी क्याम्पसमा विद्यार्थी शून्य भएका हुन्।

विश्वविद्यालयको कृषि संकायमा विगतमा चार हजार पाँच सयसम्म विद्यार्थीले कृषि स्नातकका लागि आवेदन दिने गरेका थिए। पछिल्ला वर्षमा क्रमशः घट्दै गएर यो वर्ष एक हजार ३६५ जनाले मात्रै आवेदन दिएका छन्। तीमध्ये एक हजार ५५ जना प्रवेश परीक्षामा उत्तीर्ण भएका छन्।

कृषि संकायका डिन प्राडा अर्जुनकुमार श्रेष्ठका अनुसार विद्यार्थीको सङ्ख्या घट्दो छ। गत वर्ष एक हजार ५२३ जनाले आवेदन दिएकामा ७५३ उत्तीर्ण भएका थिए। त्यसको अघिल्लो वर्ष उत्तीर्ण हुनेको सङ्ख्या ८०० थियो। एक हजार ७०० जनाले आवेदन दिएका थिए।
 
विश्वविद्यालयको दैलेखको दुल्लुस्थित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा गत वर्ष विद्यार्थी शून्य भएका थिए। विश्वविद्यालयको केन्द्रीय क्याम्पस रामपुर, कास्कीको पुरनचौर र सिन्धुलीको मरिनबाहेकका आंगिक क्याम्पसमा आधाभन्दा पनि कम विद्यार्थी पढाउनुपरेको डिन श्रेष्ठले जानकारी दिए।

विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सातवटा निजी क्याम्पसमा गत वर्ष विद्यार्थीको अभावमा पठनपाठन हुन सकेन। सातवटै क्याम्पसमा विद्यार्थीको अभावमा पढाइ हुन नसकेको हो। विश्वविद्यालयको रामपुरमा केन्द्रीय क्याम्पस, आठवटा आंगिक क्याम्पस र सातवटा सम्बन्धन प्राप्त निजी क्याम्पस छन्। 

केन्द्रीय क्याम्पस रामपुरमा १६२ जनाको कोटा निर्धारण गरिएको छ। सिन्धुलीको मरिन, महोत्तरीको बर्दिबास, धनकुटाको पार्खिबास, कास्कीको पुरनचौर, कैलालीको टीकापुर र दैलेखको दुल्लुमा रहेका आंगिक क्याम्पसमा ५४–५४ जनाको कोटा छ। रोल्पाको मणिचौर र बाँकेको खजुरामा ४९–४९ कोटा छ।  
 
त्यस्तै सम्बन्धन प्राप्त निजी क्याम्पस पूर्वाञ्चल कृषि क्याम्पस, नितिका कृषि सहकारी संस्था इटहरी, हिमछाया कलेज गैँडाकोट, रामनगर टेक्निकल कलेज नवलपरासी, भ्याली कृषि क्याम्पस ललितपुर, गोरखा पोलिटेक्निक एण्ड रिसर्च सेन्टर कोहलपुर बाँके र ब्राइट मध्यपश्चिम कृषि कलेज सुर्खेतमा ५०–५० जनाको कोटा भए पनि गत वर्ष विद्यार्थी भर्ना भएनन्।
 
विश्वविद्यालयमा आंगिक र सम्बन्धन प्राप्त कलेज गरी ९३४ जनाले अध्ययन गर्न पाउने भए पनि विद्यार्थी प्रवेश परीक्षामा उत्तीर्ण सङ्ख्या नै कम भएपछि विद्यार्थीको अभाव भएको हो। परीक्षा उत्तीर्ण भएका सबै विद्यार्थीले कृषि नै पढ्ने नहुँदा पनि सङ्ख्या कम हुने गरेको छ।
 
प्रवेश परीक्षामा विगतका वर्षमा कम विद्यार्थी उत्तीर्ण हुने भए पनि कलेजहरूमा विद्यार्थीको सङ्ख्या कम भएपछि यो वर्ष उत्तीर्ण दर बढेको छ। विद्यार्थीको आकर्षण हुँदै गर्दा उत्तीर्ण भएर पनि कोटाको अभावमा धेरै विद्यार्थीले अध्ययन गर्ने अवसर पाउँदैनथे।
 
प्राडा श्रेष्ठ सरकारले कृषि शिक्षासम्बन्धी नीति नै सुधार नगरेसम्म विद्यार्थी नबढ्ने बताउँछन्। सरकारलाई कति कृषि प्राविधिक आवश्यक पर्छ, त्यसैअनुसार कलेज सञ्चालन गर्नुपर्ने उनको भनाइ छ। सरकारको निर्देशनानुसार कृषि विश्वविद्यालयले दूरदराजमा आंगिक क्याम्पस खोलेको भए पनि बजेट अभावमा क्याम्पसको भौतिक संरचना र कर्मचारीको व्यवस्थापन हुन नसकेको उनको तर्क छ।
 
विश्वविद्यालयका कृषि स‌ंकायका भर्ना समितिका सदस्य सहप्राध्यापक रामहरि तिमिल्सेना कक्षा १२ मा विज्ञान पढेका विद्यार्थी विदेश जाने लहरसँगै कृषि पढ्नेको सङ्ख्या घट्दै गएको बताउँछन्। यससँगै सरकारले सबै विश्वविद्यालयलाई कृषि पढाउन अनुमति दिएपछि कृषि, भेटेरेनरी, मत्स्य र वनमात्रै पढाउनका लागि खुलेको विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा विद्यार्थी अभाव भएको बताए।
 
सात विश्वविद्यालयका ३५ वटा क्याम्पसले कृषि स्नातक पढाउँदै आएका छन्। तीमध्ये १६ वटा क्याम्पस कृषि विश्वविद्यालयका हुन् भने अन्य क्याम्पस अरु विश्वविद्यालयको भएको उहाँले जानकारी दिए। कृषि संकायले यो वर्ष ५० प्रतिशतभन्दा कम विद्यार्थी भर्ना भएमा नजिकको आंगिक क्याम्पसमा विद्यार्थी सारेर एकै ठाउँमा पढाउनुपर्ने नीतिगत निर्णय गरेको छ।
 
विश्वविद्यालयका उपकुलपति प्राडा पुण्यप्रसाद रेग्मीले विद्यार्थी बढ्ने गरी नीतिगतरूपमा विश्वविद्यालयले सुधारका काम गरेकाले आउँदा वर्षहरूमा विगतझै विद्यार्थीको आकर्षण बढ्ने धारणा राखे। बाहिर पढ्दा छात्रवृत्तिसँगै काम गर्दै पढ्दै गर्ने अवसर प्राप्त हुन्छ भन्ने उद्देश्यले धेरै विद्यार्थी विदेश गएको उनले बताए। ती विद्यार्थीलाई राम्रो क्याम्पसमा पढ्न पाउँदै गर्दा राष्ट्रिय–अन्तर्राष्ट्रिय महत्त्व राख्छ भन्ने परेकै कारण बाहिर गएको उनको बुझाइ छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.