तत्काल निर्णय फिर्ता लिन माग

|

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गर्दै आएको ‘कुलपति पदक’ हटाएको छ। त्रिविले अघिल्लो वर्षसम्म यो पदक दिए पनि यस वर्षदेखि भने प्रदान नगरिने जनाएको छ।

त्रिविको  प्राज्ञिक परिषद्को कार्यालयले गत साउनमै परीक्षा नियन्त्रक, परीक्षा नियन्त्रण कार्यालयलाई पदक वितरण रोकिएको निर्णय पठाएको थियो। 

‘त्रिविद्वारा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई प्रदान गरिने पदकहरूका लागि विद्यार्थी छनोट गर्दा प्राप्तांकको प्रतिशतका आधारमा सर्वोत्कृष्ट अंक प्राप्त गर्ने एकजना विद्यार्थी छनोट गर्ने पद्धति भइरहेकोमा हाल विश्वविद्यालयमा मूल्यांकनको आधार ग्रेडिङ प्रणालीअनुसारको पद्धति लागू भएकोले प्राप्तांकको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धति नभएको हुँदा त्रिवि परीक्षा सुधार तथा समन्वय परिषद्को २०८०/०३/९ गतेको बैठकबाट सिफारिस भई आएबमोजिम उत्कृष्ट अंक पाएवापतको पदक वितरणसम्बन्धी हालको व्यवस्था यसै वर्षदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भयो,’ उक्त पत्रमा उल्लेख छ।

त्रिविका परीक्षा उपनियन्त्रक राजेन्द्रकुमार पोखरेलले उक्त निर्णयअनुसार यसै वर्षबाट कुलपति पदक रोक्ने निर्णय गरेको जानकारी दिए। ‘अबदेखि उक्त पदक वितरण हुँदैन,’ उनले भने।

पदक रोकेकोबारे यसो भन्छ त्रिवि

त्रिविका परीक्षा उपनियन्त्रक पोखरेल ग्रेडिङ प्रणालीअनुसारको पद्धति लागू भएकोले यो पदक हटाइएको बताउँछन्।

‘ग्रेडिङ प्रणाली लागू भएको छ,’ उनले भने, ‘उक्त पद्धति लागू भएकोले प्राप्तांकको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धति छैन, धेरै पनि हुन्छ, त्यसैले जिपिए छुट्याउनै गाह्रो हुने भएकाले पदक वितरण स्थगित गरिएको हो।’

त्रिविको प्राज्ञिक परिषद्को कार्यालयले पनि हाल विश्वविद्यालयमा मूल्यांकनको आधार ग्रेडिङ प्रणालीअनुसारको पद्धति लागू भएकोले प्राप्तांकको आधारमा सर्वोत्कृष्ट विद्यार्थी छुट्याउने पद्धति नभएको हुँदा उक्त पदक वितरण व्यवस्था यसै वर्षदेखि लागू हुने गरी स्थगन गर्ने निर्णय भएको जनाएको छ। 

त्रिविको ४९ औँ दीक्षान्त समारोह आगामी पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदै छ। त्रिविले यसअघि पुल्चोकमा दीक्षान्त समारोह कार्यक्रम राख्दै आएको थियो।

समारोहमा सहभागी हुने विद्यार्थीहरूले आ–आफ्नो गाउन‚ स्कार्फ र टोपी पहिरी बिहान ८ बजेदेखि १० बजेभित्र समारोह स्थलमा प्रवेश गरी सिट व्यवस्थापनअनुसार बस्नुपर्नेछ।

त्रिविका परीक्षा उपनियन्त्रक डा.पवन बरालले उक्त दीक्षान्तमा १२ हजार सहभागी हुने जानकारी दिए। उनका अनुसार ७३ हजार विद्यार्थीहरू दीक्षान्त हुने छन्। स्नातकोत्तर तहमा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई ‘कुलपति पदक’ भने प्रदान गरिने छैन तर स्नातक तह र अन्य विभाग टपरहरूलाई पदक तथा पुरस्कार प्रदान गरिनेछ।

विश्वविद्यालयको गैरजिम्मेवारपनले हद नाघ्यो : बडाल

त्रिविले उक्त पदक हटाउने निर्णयप्रति विरोध पनि हुन थालेको छ। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)का अध्यक्ष समिक बडालले यसको विरोध जनाएका छन्। उनले उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीहरूलाई प्रोत्साहन गर्नु विश्वविद्यालयको दायित्व रहेको भन्दै तत्काल यो निर्णय फिर्ता लिन माग गरे।

उनले सामाजिक सञ्जालबाटै भनेका छन्, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद को यो नालायकीपन देख्दा दया लागेर आयो, तत्काल निर्णय फिर्ता लिन आग्रह गर्दछौं, उत्कृष्ट विद्यार्थीहरूको संख्या, उत्कृष्ट ग्रेडिङ्ग ल्याउने जति पनि हुन सक्छन्, तिनीहरूलाई प्रोत्साहन गर्नु विश्वविद्यालयको दायित्व हो, विश्वविद्यालयको गैरजिम्मेवारपनले हद नाघेको छ, तत्काल परिषदले यो निर्णय नसच्याए उत्पन्न हुने परिणामको जिम्मेवार स्वयम् विश्वविद्यालयको नेतृत्व हुनेछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.