|

पर्वत : उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा हुने १६ औँ हिसान स्पोर्टस् मिटको तयारी पूरा भएको छ।

शिक्षाको विकाससँगै विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा अघि बढाउन आयोजना गरिएको स्पोर्टस् मिटको सम्पूर्ण तयारी पूरा भएको हिसान कास्कीले जनाएको छ। स्पोर्टस् मिटअन्तर्गत विद्यालय, कलेज र विश्वविद्यालय गरी विभिन्न चार खेलका छुट्टाछुट्टै प्रतिस्पर्धा आयोजना हुनेछन्।

हिसान स्पोर्टस् मिट मंसिर १४ गतेदेखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालन हुने हिसान कास्कीका निवर्तमान अध्यक्ष एवं स्पोर्टस् मिटका संयोजक डा. रामजी शर्माले बताए। १६ औँ हिसान स्पोर्टस् मिटको उद्घाटन बास्केटबल कोर्टमा गर्ने गरी तयारी भएको संयोजक शर्माले जानकारी दिए।

हिसान कास्की स्पोर्टस् मिटअन्तर्गत छात्रछात्रा बास्केटबल, भलिबल, ब्याडमिन्टन र टेबलटेनिसका प्रतिस्पर्धा हुनेछन्। प्रतियोगितामा मावि तह छात्र भलिबलमा २९ र छात्रातर्फ २१ विद्यालय सहभागी हुने हिसान कास्कीका अध्यक्ष यामबहादुर रोक्काले जानकारी दिए।

त्यस्तै छात्र बास्केटबलमा सर्वाधिक ३७ विद्यालयको सहभागिता रहेको छ भने छात्रातर्फ १५ टिम भिड्नेछन्। टेबलटेनिसतर्फ २८ विद्यालयका करिब ३ सय छात्रछात्रा एकल र युगलमा प्रतिस्पर्धा गर्नेछन् भने ब्याडमिन्टन छात्रछात्रातर्फ २४ विद्यालयका ३१२ प्रतिस्पर्धी सहभागी हुने आयोजकले जनाएको छ। विश्वविद्यालयतर्फ बास्केटबलमा नौवटा शैक्षिक संस्था सहभागी छन्।

हरेक वर्ष आयोजना हुँदै आएको प्रतियोगिताले युवा खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका खेल्ने संयोजक शर्माले बताए। खेलकुदमार्फत विद्यार्थीको क्षमता बढाउन तथा युवा खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको उनको भनाइ छ।

प्रतियोगिता सम्पन्न गर्न करिब २० लाख रुपैयाँ खर्च हुने तथा प्रतियोगितामा विजेता विद्यालयलाई ट्रफी‚ मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.