|

पर्वत : पोखरास्थित पोखरा थिएटरको गन्धर्व नाटक घरमा साहित्यकार हृदयचन्द्र सिंह प्रधानको उपन्यास ‘एक चिहान’ मा आधारित नाटक ‘एक चिहान’ को मञ्चन शुरु भएको छ। 

सोमबार नाटकको विशेष सो मञ्चन गरेपछि मंगलबारदेखि बुकिङ शो मार्फत नाटक मञ्चन थालिएको हो। पोखराका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्ष्य गरी नाटक मञ्चन गरिएको हो। यो क्रम आगामी पुस छ गतेसम्म पोखरा थिएटरको गन्धर्व नाटक घरमा निरन्तर मञ्चन हुने नाटकका निर्देशक परिवर्तनले बताए। बुकिङ शो भए पनि इच्छुकले व्यक्तिगत रूपमा ती सोमा पुगेर नाटक हेर्न भने पाउनेछन्।

साहित्यकार प्रधानको उपन्यास ‘एक चिहान’ पाठ्यक्रम विकास केन्द्रद्वारा कक्षा ११ र १२ को अनिवार्य नेपालीमा समावेश गरेकाले विद्यार्थीको सिकाइका लागि पनि नाटक सहयोगी बन्ने छ। नेपाली गरिब किसान र मजदुरको जीवनमा आधारित यो नाटक सामाजिक यथार्थवादी नाटक हो। गरिबी, बाध्यता र विवशताको परिवेशमा न्यून   वर्गीय जीवनका जटिलता र संघर्ष प्रस्तुत भएको नाटकमा विशेष गरी नेवारी समुदायको पारिवारिक परिवेश देखाइएको छ। नेवारी पोशाक, नेवारी लबजले नाटकलाई परिपक्व बनाउन सघाएको छ।

पोखरा थिएटरको प्रस्तुतिमा मञ्चन भइरहेको नाटकमा जनक पराजुली, रोशनी रामदाम, रविन्द मल्ल, उमा पुन, गोपाल भुसाल, रञ्जु दाहाल, सुसन पौडेल, मिलन श्रेष्ठ, दिप्सना विश्वकर्मा, धनकाजी श्रेष्ठ, प्रतीक घिमिरे, सुशील बराल, रोहित पौडेल, प्रथम श्रेष्ठ, रमेशबाबु तिमल्सिना, सोनिया कार्की खत्री, अनुषा परियार लगायतको अभिनय हेर्न पाइन्छ। 

उपन्यास ‘एक चिहान’ लाई नाट्य रूपान्तरण तथा निर्देशन परिवर्तनले गरेका छन्। सह–निर्देशन अञ्जु दाहालले गरेको नाटकमा हरिदेवी कोइरालाको असारे गीत समेत समावेश छ। शनिबार बाहेक बिहान आठ बजे, साढे १० बजे र दिउँसो साढे १२ बजे नाटक मञ्चन हुने पोखरा थिएटरले जनाएको छ। नाटक झण्डै एक घण्टा ३० मिनेट अवधिको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.