|

विराटनगर : आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा महिला जनप्रतिनिधि नै पछाडि पर्ने गरेको पाइएको छ। बुधवार शि लिड्स महिला नेतृत्व  कार्यक्रमले आयोजना गरेको स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरुको चुनौती, अन्तर र अवसर आदानप्रदान गोष्ठीमा स्थानीय तहमा प्रतिनिधित्व गर्ने महिला जनप्रतिनिधिले आफ्ना अनुभव राख्दै यस्तो बताएका हुन्।

बेलबारी नगरपालिकाका महिला सदस्य मञ्जु रिजालले महिला जनप्रतिनिधि पनि आर्थिक, सामाजिक साथै राजनीतिक क्षेत्रमा पछाडि परेको बताइन्। 

काम गर्ने दौरानमा भोगको चुनौतीको विषय उल्लेख गर्दै यस्तो बताएकी हुन्। आर्थिक समस्याका कारण समाजमा समानान्तर ढंगले अगाडि बढ्न नसकेको र पारिवारिक रुपमा समय व्यवस्थापन गर्नु नसक्नु पनि ठूलो चुनौती रहेको उनको भनाई थियो।

दलित महिलाले अवसर पाए पनि समाजमा विभेदको जालो अझै नहटेको उनको भनाई छ। ‘अहिले पनि दलित महिलाहरुले समाजमा विभेद बेहोर्नुपर्ने अवस्था छ,’ रिजालले भनिन्, ‘अहिले पनि सामाजिक कार्यक्रमा जाँदा दलित महिलाहरुले सँगै बसेर नखाइदियोस् वा कुनै पनि कार्यक्रमको भान्सामा नगइदिए हुन्थ्यो जस्तो व्यवहार अझै पनि छ। यो पनि चुनौतीको विषय बनेको छ।’

एकल महिला होस् या कामकाजी महिला बाहिर हिँड्दा समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेको र पारिवारिक शंकाका कारण मानसिक तनाव र घरेलु हिंसा बेहोर्नुपर्ने अवस्था पनि रहेको बताउँदै उनले भनिन्, ‘एउटी जनप्रतिनिधि होस् या एकल महिला काममा नै कसैको बाइकमा हिँड्यो भने नकारात्मक दृष्टिकोणले लिने गरेका पाइन्छ।’ 

महिला जनप्रतिनिधिलाई अवसरका विषयमा समेत विभेद गर्ने गरेको र रातो किताबमा समेत महिलाको विषयलाई समावेश गर्न नसकेको रिजालले बताइन्।

विविध चुनौतीहरु पनि सिकाइका विषय रहेको लेटाङ नगरपालिकाको कार्यपालिका सदस्य चम्पा थापा बताउँछिन्। उनले शि लिड्स महिला नेतृत्व कार्यक्रमले जनप्रतिनिधि महिलाहरुलाई दिएको विभिन्न चरणको तालिमले ज्ञान, शिप र धारणाको विकास भएको र आत्मविश्वासमा अभिवृद्धिसमेत भएको बताइन्। 

जनप्रतिनिधि भएर आउँदा सुरु अवस्थामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुलाई क्षमता विकासमा रकम विनियोजन गर्ने सन्दर्भमा धेरै महत्व नदिएको र अहिले वडा र नगर स्तरको बजेटमा महिला, बालबालिका,अपाङ्गता तथा ज्येष्ठ नागरिकको लागि शिप विकास, आय आर्जन तथा क्षमता विकासको लागि महिला सदस्यहरुकै पहलमा कार्यक्रम  बजेट विनियोजनमा बढावासमेत हुन थालेको उनको भनाई थियो।

वडा र कार्यपालिका बैठकमा आफ्ना कुरा राख्नुका साथै कार्यवाहक वडाध्यक्ष बनि प्रभावकारी कार्य सम्पादन गर्नसमेत सक्षम भएको उनले बताइन्।

आगामी चुनावमा महिलालाई आरक्षणको कोटामा मात्र नभएर अन्यत्र र खुल्लामा पनि उम्मेदवार हुन पाउने व्यवस्था गर्नुपर्नेमा कानेपोखरी गाँउपालिकाकी दलित महिला सदस्य दुर्गा नेपालीले जोड दिइन्। 

सबै पार्टीका कमिटी, पालिका समितिहरुमा पनि मुख्य पदमा महिलालाई स्थान दिनुपर्नेमा जोड दिँदै उनले सबै पार्टी, पालिकाहरुले आफ्ना जनप्रतिनिधिहरुको जिम्मेवारी र भूमिकाको विषयमा विषय विज्ञद्वारा निर्वाचित हुनासाथ तालिम दिनुपर्नेमा जोड दिइन्।

‘स्थानीय तहका प्रमुखबाट आफ्ना जनप्रतिनिधिहरुलाई समय समयमा अन्तरक्रिया छलफल कार्यक्रम राखि विचार आदानप्रदान तथा विचार विमर्श गर्ने व्यवस्था हुनुपर्छ,’ उनले भनिन्, ‘जस्ले महिलाहरुलाई हौसला प्रदान गर्छ।’

यौनिक अल्पसंख्यकमाथि सरकारको हिंसा

यता, परिवर्तनशील समाजका ‘प्रोजेक्ट कोर्डिनेटर’ मुस्कान श्रेष्ठले यौनिक अल्पसंख्यकको हकमा नागरिकता पाउने सन्दर्भमा नै सरकारले हिंसा गरेको बताइन्। 

लिंग परिवर्तनका लागि मेडिकल रिपोर्टसहितको लामो प्रक्रियाबाट गुज्रनुपर्ने बाध्यता आएको बताउँदै उनले लिंग परिवर्तन गर्न पनि धेरै रकम खर्चिनुपर्ने बताइन्। 

यौनिक अल्पसंख्यक हो भन्ने घरका सदस्यले थाहा पाए भने घर र सिंगो समुदाय नै त्यागेर नयाँ शहरमा जानुपर्ने बाध्यता रहेको बताउँदै उनले नयाँ शहरमा पनि घर भाडामा पाउन मुस्किल रहेको गुनासो गरिन्। 

पहिचानको आधारमा नागरिकता पाउनुपर्ने संविधानमा उल्लेख भए पनि कानुनको पाटोमा विभेद भएको बताउँदै उनले स्थानीय सरकारले नै यसको सन्दर्भमा आवाज उठाउनुपर्नेमा जोड दिइन्।

‘हामीलाई फरक तेस्रोलिंगी हो भन्ने थाहा पाउने बित्तिकै परिवारले बेवास्ता गर्छन्, त्यसपछि घर छोडेर नयाँ शहरमा आउनुपर्ने हुन्छ यहाँ पनि डेरा पाउन मुस्किल हुन्छ। सरकारले नागरिकता दिने सन्दर्भमा पनि विभेद गरिदिएको छ,  हामीलाई पनि राजनीतिक क्षेत्रमा समावेश गर्ने इच्छा हुन्छ तर हामीलाई समेट्न सक्नु हुन्न, कुन पार्टीमा कति जना छन् यौनिक अल्पसंख्यक समुदायहरु, जनप्रतिनिधि कति छन्?‚’ उनले प्रश्न गर्दै भनिन्, ‘राजनीतिक, सामाजिक, आर्थिक विषयमा त विभेद छँदैछ, हामीलाई रोजगारीसमेत दिँदैनन्। यो विषयमा स्थानीय तहबाट नै आवाज उठ्न जरुरी छ।’  

कार्यक्रममा राजनीतिक दलका प्रतिनिधिहरुले महिलालाई आगामी निर्वाचनमा कार्यकारी पदमा अवसर दिने प्रतिबद्धता जनाएका छन् भने यौनिक तथा अल्पसंख्यकको सन्दर्भमा पनि आवाज उठाउनमा जोड दिएका छन्। 

कार्यक्रममा ९ वटा पालिकाका जनप्रतिनिधि समेटिएको शि लिड्स महिला नेतृत्व कार्यक्रमकी जिल्ला संयोजक निलम ढुंगेलले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.