|

काठमाडौँ : व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या स्वीकार गरी समाधानमा सरकार गम्भीर हुन आवश्यक रहेको बताएका छन्।

शुक्रवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को साधारणसभामा बोल्दै व्यवसायीहरुले सरकारसँग यस्तो माग गरेका हुन् । व्यवसायीहरुले अर्थतन्त्र सुधार गर्ने प्रमुख दायित्व सरकारको भएको बताए । 

उनीहरुले अर्थतन्त्रको सुधार गर्न केही संरचनागत सुधार गर्न आवश्यक रहेको पनि बताए। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थतन्त्र समस्यामा छ भन्ने विषयलाई सरकारले स्वीकार गरेर समाधानका लागि गम्भिर पहल थाल्न आवश्यक रहेको बताए।

उनले राष्ट्र बैंकले नियमनमा चासो बढाउँदै लैजाँदा माइक्रोम्यानेजमेन्टतर्फ आकर्षित भएको आरोप लगाए। उनले सामूहिक कर्जामा सुक्ष्म निगरानीका सम्बन्धमा केन्द्रीय बैंकले लगाएको अंकुश अर्थतन्त्र र व्यवसायिक वातावरणको प्रतिकुलतासँगै अव्यवहारिक रहेको बताए। उनले अर्थतन्त्र सुधारका विषयमा भगवान भरोसा भनेर नबस्न सरकारलाई आग्रह गरे।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले सरकार, राष्ट्र बैंक र निजी क्षेत्र मिलेर बैंकको ब्याजदरको करिडोरलाई घटाउन आवश्यक रहेको बताए। उनले तत्काल बैंकको ब्याजदर एकल अंकमा ल्याउन सकियो भने मात्रै मुलुकको अर्थतन्त्र चलायमान हुनसक्ने दाबी गरे। 

राज्यका कतिपय ऐन र नियमका कारण प्रशस्त रुपमा निर्यात हुनसक्ने जडिवुटीहरु निर्यात हुन नसकेको उनले बताए । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.