|

काठमाडौं : कप्तान हरिशंकर शाहको अलराउन्ड प्रदर्शन गरेपछि मधेश प्रदेशले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै केपी ओली कप टी-२० प्रतियोगिताको विजेता बनेको छ।

मधेशले पोखरा रंगशालाको क्रिकेट मैदानमा शुक्रवार भएको फाइनलमा आर्मी क्लबलाई ११ रनले पराजित गर्दै उपाधि जितेको हो।

मधेशले दिएको १३६ रनको लक्ष्य पछ्याएको आर्मीले २० ओभर नै ब्याटिङ गरे पनि ७ विकेटको क्षतिमा १२४ रनमात्र बनाएर उपाधि गुमायो।

आर्मीका कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले अविजित २५, भीम सार्कीले २२, सोमपाल कामीले अविजित १६ र सन्तोष कार्कीले १६ रन बनाए। 

मधेशका लागि कप्तान हरिशंकरले ४, प्रदीप पासवानले २ र प्रतिक यादवले १ विकेट लिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १३५ रन बनाएको थियो। मधेशका लागि विशाल पटेलले ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गर्दै अविजित ४९ रन बनाए। कप्तान हरिशंकरले २७ रन, हिमान्शु दत्तले १४ रन र विशाल सुस्लिङ्गले १० रन बनाए।

आर्मीका लागि विवेक यादव र शाहब आलमले ३/३ विकेट‚ सोमपाल र बसिर अहमदले १/१ विकेट लिए। 

सेमिफाइनलमा मधेशले सशस्त्र प्रहरीको नेपाल एपिएफ क्लबलाई ११ रन र आर्मीले बागमती प्रदेशलाई ४ विकेटले पराजित गर्दै फाइनल पुगेका थिए।

प्रतियोगिताको विजेता मधेशले ५ लाख रुपैयाँ नगद र उपविजेता बनेको आर्मीले २ लाख ५० हजार रुपैयाँ नगद प्राप्त गरे।

मंसिर ६ गते शुरु भएको प्रतियोगितामा ७ प्रदेशसँगै ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लब र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिमले सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.