|
बनेपास्थित मासुनागा आँखा अस्पताल।

बनेपा : काभ्रेपलाञ्चोकको बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पतालमा यही मंसिर २२ र २३ गते नेत्र विशेषज्ञको अन्तरराष्ट्रिय सम्मेलन हुने भएको छ। सम्मेलनमा अमेरिका र नेपालका करिब १५० नेत्र विशेषज्ञले सहभागिता जनाउने छन्। 

सम्मेलनमा आँखाको उपचारमा विश्वभर भइरहेका अभ्यास, अनुभव तथा प्रविधिका कारण निम्त्याइएको नयाँ समस्या तथा चुनौतीबारे बृहत् छलफल हुने अस्पतालका अध्यक्ष मधुप्रसाद आचार्यले जानकारी दिए। 

उनका अनुसार सम्मेलनको तयारी पूरा भएको छ। सम्मेलनको पहिलो दिन नवनिर्मित ओपिडी भवनको शुभारम्भ गरेपछि औपचारिक कार्यक्रम शुरु हुनेछ। 

प्रशासकीय प्रमुख हीरामणि शर्माका अनुसार सन् २००७ स्थापित अस्पतालले सन् २०२३ सम्ममा १० लाख नागरिकलाई ओपिडी सेवा उपलब्ध गराएको छ। 

पाँचजना विशेषज्ञ डाक्टरद्वारा नियमित सेवा प्रदान गर्दै आएको अस्पतालले बनेपाका अलावा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरस्थित भकुण्डे, सिन्धुपाल्चोकको खाँडीचौर र जनकपुरको ढल्केबरसम्म सेवा उपलब्ध गराउँदै आएको उनले बताए। 

अस्पतालले हाल विद्यालयस्तरमा पुगेर बालबालिकामा आँखासम्बन्धी रोगको पहिचान तथा उपचार गरिरहेको छ। यसअन्तर्गत बनेपा नगरपालिकाका २४ हजार बालबालिकाको आँखाको निःशुल्क परीक्षण गरिरहेको छ। 

अस्पतालले गत आवमा ५५ हजार ९९७ लाई सेवा उपलब्ध गराएकामध्ये ४४५ को आँखाको शल्यक्रिया गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.