|

बाँके : मित्थु थारु आइतवार विहान गाभर भ्याली होमस्टेको भित्तामा एकसुरमा थारु समुदायले पुज्ने अप्सराको चित्र कोर्दै थिए। 

उनले सेतो, हरियो, कालो, पहेँलो सबै रङमा लत्पतिएर भित्तामा थारु इतिहास र लोक संस्कृतिमा आधारित देवीदेवताको प्रतिमा रङ्ग्याउँदै थिए। 

कैलालीको जानकी गाउँपालिका–३ घर भएका ३५ वर्षीय मित्थुले ललितकला क्याम्पसमा चित्रकलामा स्नातक गरेका छन्। माटाका मूर्ति बनाएर पुज्ने थारु जातिको प्रचलनलाई सानैदेखि देख्दै आएका मित्थुलाई माटाका मूर्ति बनाउनमा रुचि बढेपछि चित्र र मूर्ति बनाउने कलामा आफूलाई निखार्दै लगे। 

चित्रकलाको चारवर्षे अध्ययन सकेर २ वर्षदेखि व्यावसायिक रुपमा उनले काम गर्दै आएका छन्। मित्थुले विशेष गरेर थारु जातिको संस्कृति र ऐतिहासिक महत्व बोकेका चित्र र भित्ते मूर्ति बनाउने गरेको बताए। पहिलोपटक मूर्ति बनाउँदा एकैचोटी २५ हजार रुपैयाँ पाएको उनले सुनाए। 

‘अध्ययन पूरा गरेपछि मैले पहिलोपटक थारु जातिको इतिहास र लोक कला संस्कृति झल्किने भित्ते चित्र बनाएको थिएँ। त्यसबाट २५ हजार पाएको थिएँ,’ उनले भने। उनका अनुसार चित्र र मूर्ति बनाउँदा मासिक पारिश्रमिक ७० हजारदेखि १ लाखसम्म हुने गर्छ। 

यतिवेला उनी बाँकेको बैजनाग गाउँपालिका–१ मा पर्ने गाभर भ्याली होमस्टेका भित्तामा थारु समुदायले पुज्ने देवीदेवताका प्रतिमूर्ति कोर्दै छन्। 

उनले दुर्गाशरणको कथामा आधारित थारु समुदायका देवी मयारी (अप्सरा), थारुका राजा (दंगीशरण), भेंवाँ (भीम), ठूलो डेमन डेउडा घोडालगायत माटाका मूर्ति कुँदेर होमस्टेका भित्ता सजाइरहेका छन्।

मूर्तिको विशेषता हेरेर मूल्य निर्धाण हुने भएकाले एउटा मूर्ति कुँदेबापत २५ देखि ३० हजार रुपैयाँसम्म लिने गरेको मित्थुको भनाइ थियो। व्यावसायिक रुपमा थारु संस्कृति झल्कने चित्र र मूर्ति बनाउन थालेपछि आर्थिक अवस्थामा सुधार आएको उनले बताए। 

मित्थुले दाङको दंगीशरण–३ चखौरा गाउँमा थारु संस्कृति संग्रहालयमा चित्र र मूर्ति बनाइरहेका छन्। थारु संस्कृति जागरणाकै लागि आफूले यो काम रोजेर व्यावसायिक रुपमा अघि बढेको उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.