|

इलाम : इलामको माङसेबुङमा सञ्चालित १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण आत्मानन्द कपको उपाधि तिजोक युवा क्लब पाँचथरले जितेको छ। माङसेबुङ गाउँपालिका-५ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाइनल खेलमा माङसेबुङ गाउँपालिका इलामलाई सडन डेथमा पराजित गर्दै तिजोक च्याम्पियन बनेको हो।

निर्धारित समयमा दुवै टिमबाट गोलरहित बराबरी भएपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो। टाइब्रेकरमा समेत ५/५ गोलको बराबरी भएपछि सडन डेथका आधारमा विजेता निर्धारण गर्नुपरेको थियो।

विजेता तिजोकले नगद तीन लाख ११ हजार १११ र उपविजेता माङसेबुङले नगद दुई लाख पाँच हजार १११ रुपैयाँसहित ट्रफी हात पायो। तिजोक अघिल्लो संस्करणमा उपविजेता बनेको थियो। अघिल्लो संस्करणमा तिजोक छथर गाउँपालिका तेह्रथुमसँग पराजित बनेको थियो।

प्रतियोगिताको उत्कृष्ट डिफेन्डर विजेता तिजोकका रोशन आङदेम्बे, उत्कृष्ट गोलकिपर रोशन नेपाल, सर्वाधिक गोलकर्ता निर्देश राई घोषित भए। त्यस्तै उत्कृष्ट खेलाडी उपविजेता माङसेबुङका रविन मगर र उदीयमान खेलाडी उपविजेता माङसेबुङका चन्द्रहाङ लिम्बू घोषित भए। उनीहरूले जनही नगद पाँच/पाँच हजार प्राप्त गरे।

विजेता र उपविजेता टिम र खेलाडीहरूलाई युवा तथा खेलकुदमन्त्री डिकबहादुर लिम्बूले पुरस्कृत गरे।

किरात धर्मगुरु आत्मानन्द लिङदेनको ७० औँ जन्मोत्सवको अवसरमा आत्मापवित्र हक्चात यक्चुमको आयोजनामा ८ मंसिरदेखि सञ्चालित गोल्डकपमा नेपाल, भारत र भुटानका ८ टोली सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.