|

काठमाडौँ : पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्दो छ। केही दिनयताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो।

सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो। मंगलवार भने तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरू बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो। त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६५० रुपैयाँ कायम भएको छ। अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ। नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार मूल्य घटेको थियो। पछिल्लो दुई हप्ता भने लगातार सुनको मूल्य बढ्दो छ।

मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन घटेको छ। मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ।

विश्वव्यापी अर्थतन्त्रमा मन्दी बढ्दो अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव भएको छ। विश्वका लगानीकर्ताले अन्य क्षेत्रभन्दा सुन सुरक्षित लगानीको रूपमा लिँदा विश्व बजारमा सुनको मूल्य बढेको जानकारहरू बताउँछन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तरराष्ट्रिय युद्ध, व्यापारमा मन्दी, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेकाले लगानीकर्ताको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रूपमा बढेको बताए।

उनले दुई, तीन हप्तादेखि उच्च रूपमा सुनको मूल्य बढ्नु रूस र युक्रेन युद्धको असर अन्तरराष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारिक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताए। उनले ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले त्यहाँबाट निकालेर सुरक्षित लगानीका रूपमा सुनमा लगानी गरेको बताए।

उनले विश्वका लगानीकर्ताले सुनमा लगानी बढाएकाले सुनको मूल्य उच्च रूपमा बढेको दाबी गरे। संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्भ बैंकले कही दिनअघि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताए।

अध्यक्ष शाक्यले भने,‘विश्वका शक्तिशाली देशहरू युद्धमा संलग्न हुनु, व्यापारमा ठूलो अन्तर आउनु, विश्वव्यापी रूपमा मूल्यवृद्धि हुनु र उद्योगधन्दा समस्यामा परेकाले सुनको मूल्य बढेको छ। रूस र युक्रेन युद्ध, अमेरिका र चीनबीचको व्यापारिक युद्ध, प्यालेस्टाइन र इजरायल युद्ध हो। यस्तो अवस्थामा विश्वको सुरक्षित लगानी भनेकै सुनमा भएको विश्वास बढेकाले सुनको मूल्य उच्च रूपमा बढेको हो।’

यसैगरी अमेरिकी फेडरल रिजर्भ बैंकले केही दिनअघि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाएकाले पनि सुनको मूल्य बढेको उनले बताए।

उनले सुनको मूल्य बढेकाले विश्वभर बजारमा सुन किन्नेभन्दा बेच्ने बढी भएकाले मंगलवार मूल्यमा गिरावट आएको बताए। उनले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताए। उनले नेपाली बजारमा मंसिर महिनाको बिहेको लगनका वेला विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तरराष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.