|

नेपालगञ्ज : लामो समय मौरीपालनमा लागेका बाँके कोहलपुर—११ का पुरमल बस्नेत आजभोलि लोपोन्मुख पुत्का मौरीको संरक्षण तथा संवर्द्धनमा जुटेका छन्। पूर्वसैनिक बस्नेतले पुत्का जातको रैथाने मौरी सङ्कटमा परेको उल्लेख गर्दै यसले वातावरणीय सन्तुलन कायम गर्न योगदान गर्ने धारणा व्यक्त गरे। 

‘मौरीपालक किसानले जति आम्दानीका लागि मेहनत गरेका हुन्छन्, जैविक विविधता संरक्षणमा पनि उसको दायित्व हुन्छ,’ बस्नेतले भने। लोप हुने अवस्थामा रहेको पुत्का जातको सो मौरीलाई थारु भाषामा ‘मगरासा’ र अंग्रेजीमा ‘मेलिपोना’ भनिन्छ। 

विश्वभर ४ सय प्रजाति रहेको उक्त मौरी नेपालमा कति छ भन्ने विषयमा अनुसन्धान नभएको बस्नेतको भनाइ छ। यसलाई खिलरहित मौरीको रुपमासमेत चिनिन्छ। रैथाने जातको सो मौरीबाट महको उत्पादन नगरिएको र जोगाउनका लागि मात्र काम गरिरहेको उनले बताए। 

काठका मुडा र आधुनिक ३० घारमा ती मौरीको वासस्थान बनाइएको छ। ‘यो अध्ययनको विषय भएको छ र गाभर भ्यालीमा रैथाने प्रकृतिका घर बनाउनुका साथै सामुदायिक जिन बैंक स्थापना गरेर एग्रो टुरिजमको काम भएको छ,’ बस्नेतले भने। 

यसको संरक्षणसँगै उनले भमरा पनि लोप हुन लागेको भन्दै त्यसको संरक्षण गर्न थालेका छन्। जैविक विविधताका लागि भमरा बिना परागसेचन नहुने तर्क गर्दै बस्नेतले अन्य धेरै रैथाने जातका कीट जोखिममा रहेको औँल्याए। 

उनी भन्छन्, ‘एउटा सेतो पाटे भमरा र अर्को कालो भमराको घार बनाएर संरक्षण गरेको छु।’

बस्नेतले लोपोन्मुख मौरीको र भमराका लागि कीट पाठशाला बनाउन आवश्यक रहेको बताए। उनले खाग प्रजातिको मौरीको पनि संरक्षण आवश्यक भएकोमा जोड दिँदै रैथाने प्रजातिका धेरै कीटको वासस्थान नासिएकोमा चिन्ता व्यक्त गरे। 

‘पहिले रैथाने हाम्रा घर थिए, धोद्रा रुख हुन्थे, परालका टौवा हुन्थे र भमराको त्यहाँ वासस्थान हुन्थ्यो तर अहिले सबै वासस्थान नासिए त्यही भएर पनि यसको संरक्षण जरुरी भयो,’ उनले भने। 

कोहलपुरका विभिन्न विद्यालयमा कीटको वासस्थान बनाउन काम गरेको जानकारी उनले दिए। विसं २०७८ मा पहिलो पटक सरकारले ‘पुरमल घरायसी कीट जिन बैंक’ नामकरण गरी घरमा नै स्थापना गरेर काम थालेको उनले बताए।

उनलाई नार्कको पनि साथ र सहयोग गरेको छ। ‘नार्कले प्राविधिक रुपमा सहयोग गरिरहेको छ‚’ उनले भने। 

यसबाहेक बर्दियामा रैथाने पशुको जीन संरक्षण गर्ने र त्सबाट मल कारखाना थाल्ने तयारीसमेत भएको जानकारी दिँदै बस्नेतले नार्क र माटो विभागले त्यसमा सहयोग गरिरहेको बताए। 

मानिसको क्रियाकलापले वातावरणीय सन्तुलन बिग्रँदा त्यसको असर मौरीमा पनि परेकाले जैविक विविधताको संरक्षण सबैको साझा दायित्व भएको भएको उनको भनाइ छ।

विसं २०६७ देखि मौरीपालनमा लागेका बस्नेतले मेलिफेरा नामको उन्नत जातको मौरीपालन गरेका छन्। तत्कालीन समयमा २ घारबाट शुरु भएको उनको मौरीपालन अहिले ९० घारको हाराहारीमा पुगेको छ। उनी भन्छन्, ‘एउटा घारबाट मात्रै करिब २० देखि २५ किलो मह उत्पादन हुन्छ।’ 

तराईमा चल्ने शीतलहर र तरकारी खेती र तोरीखेतीमा अत्यधिक विषादीको प्रयोगले मौरी प्रभावित भएको उल्लेख गर्दै बस्नेतले हाइब्रिड उत्पादनभन्दा रैथाने जातका बालीबाट महको उत्पादन अर्गानिक र गुणस्तरीय हुने बताए। 

व्यावसायिक मौरीपालन गरेका उनी मौरीपालनमा प्रचुर सम्भावना भएको उल्लेख गर्दै आयआर्जनका लागि पनि सहज भएको बताउँछन्। 

मौरीपालक किसान समूह, बाँकेका अध्यक्षसमेत रहेका बस्नेतले मौरी पालनबाट आयआर्जनको काम गरेको र करिब ९० घार मौरीपालनमा करिब १० लाख रुपैयाँ लगानी भएको र त्यसबाट वार्षिक ५ लाख रुपैयाँ आम्दानी हुने गरेको उल्लेख गरे। 

मौरी चराउन बाँके र बर्दियाका विभिन्न स्थानमा घार नै बोकेर जानुपर्ने बाध्यता भएको जानकारी दिँदै बस्नेतले पहिले मौरी चराउनयोग्य भएको वा नभएको भनेर अध्ययन गर्ने गरेको बताए।

‘अहिले मौरी चराउने भनेको तोरी बारीमा हो, यसको याम पनि छ,’ बस्नेतले भने। बाँकेमा केही किसानले मात्र मौरीपालन गरेका छन्। 

जिल्लालाई मौरीको चरन क्षेत्रका हिसाबले उत्कृष्ट मानिए पनि बढी जाडो र बढी गर्मी हुने भएकाले मौरीपालनका लागि राम्रो नभएको किसानहरु बताउँछन्।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सकिल अहमदले यस वर्ष मौरीपालन कार्यक्रम जिल्लामा नरहेको उल्लेख गर्दै किसानको माग नआएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.