|

लण्डन : बेलायत सरकारले देशमा आप्रवासीको संख्या घटाउन अध्यागमन सम्बन्धी नियम थप कडा बनाउने घोषणा गरेको छ। बेलायती गृहमन्त्री जेम्स क्लेभर्लीले बेलायती संसद्‌को तल्लो सदनमा यो सम्बन्धमा बयान दिएका हुन्।

नयाँ नियममा विदेशी कामदारलाई सीपमा आधारित भिसा प्राप्त गर्नका लागि उच्च तलब सीमा तोक्ने र परिवारका सदस्यहरूलाई आश्रितको रूपमा बेलायत ल्याउन प्रतिबन्ध लगाउने समावेश छ। यो नियम आगामी वसन्त ऋतुदेखि लागू हुनेछ। यो निर्णयको प्रत्यक्ष असर नेपालीलाई पर्नेछ। यसले नेपाली विद्यार्थी र दक्ष कामदारका रूपमा बेलायत जान असम्भवप्रायः देखिएको छ।

यो नियमअनुसार अब ‘हेल्थ एण्ड केयर वर्कर’ भिसामा आएका व्यक्तिले आफ्नो परिवारका कुनै सदस्यलाई साथमा ल्याउन पाउने छैनन्। स्किल्ड वर्कर भिसामार्फत बेलायत आउन निवेदन दिनेहरूको तलब न्यूनतम ३८ हजार ७०० पाउण्ड हुनुपर्नेछ। यसअघि यो २६ हजार २०० पाउण्ड थियो।

पारिवारिक सदस्यका हैसियतमा बेलायत ल्याउन पनि उत्ति नै आम्दानी हुनुपर्नेछ। यसअघि यो १८ हजार ६०० पाउण्ड रहेको थियो। 'अध्यागमन नीति निष्पक्ष, सुसंगत, कानूनी र दिगो हुनुपर्छ'‚ संसद्‌मा क्लिभर्लीले भने।

स्नातकोत्तर तहभन्दा मुनिका विदेशी विद्यार्थीहरूले आगामी जनवरीदेखि आश्रित रूपमा ल्याउन नपाउने नियम यसअघि सार्वजनिक भइसकेको छ। विद्यार्थी भिसामा हुनेहरूले आफ्नो अध्ययन पूरा नभएसम्म वर्क पर्मिट रुटमा जान पनि पाउने छैनन्।

दक्ष कामदार भिसामा गत वर्ष ९ प्रतिशतले वृद्धि भएको थियो। स्वास्थ्य र हेरचाह भिसामा १३५ प्रतिशतले वृद्धि भएको थियो।

विदेशी विद्यार्थी लगायत बेलायत आउने आप्रवासीहरूको संख्या करिब साढे सात लाख पुगेको समाचार सार्वजनिक भएको थियो। यो वर्ष मात्रै ६ हजार ५४७ नेपाली विद्यार्थी बेलायत आइपुगेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.