|

पर्वत : जिल्लाको कुश्मा नगरपालिका–२ खुर्कोटमा परालको टौवामा आगलागी गरिदिनेहरूका कारण आतङ्क मच्चिएको छ।

पछिल्ला केही दिन यता दाइँ हालेर परालको थुप्रो बनाइएको टौवामा मध्यरातको समयमा अपरिचित पक्षबाट आगलागी गरिदिँदा घरबासमा समेत आगो सल्किने तथा चौपायालाई वर्ष दिन खुवाउनको लागि प्रयोग हुने परालको चिन्ताले गाउँलाई नै भयमा डुबाएको छ।

सुरुमा गत मङ्सिर १४ गते राति साढे दुई बजेको समयमा खत्री टोलका पूर्णबहादुर क्षत्रीको टौवामा आगो लागेको थियो। स्थानीय सबै रातिमा निदाएको बेलामा टौवामा आगो लगाइदिएपछि ढिला गरी आगलागीबारे थाहा पाएर नियन्त्रणमा लिने बेलासम्म पराल नै सखाप भएको थियो।

यस्तै गत मङ्सिर १६ गते बिहान चार बजेको समयमा किरण शर्माको टौवामा, १७ गते बिहान साढे छ बजेको समयमा अनन्तराज शर्माको टौवामा तथा पछिल्लो पटक मङ्सिर १९ गते राति साढे दुई बजेको समयमा डिल्लीराज शर्माको टौवामा आगजनी भएको थियो।

विगत दुई÷तीन वर्ष अगाडि रातिको समयमा हुने श्रृङ्खलाबद्ध चोरीको कारण आजित भएको खुर्कोटमा फेरि रातिकै समयमा परालको थुप्रोमा आगजनी गरिदिने घटनाले गाउँ नै आतङ्कित बनेको स्थानीय क्षेत्रबहादुर क्षेत्रीले बताए। ‘हाम्रो समाजका कोही मानव रुपी दानव गतिविधि विवेकहीन, क्रूर, निर्दयी बन्दै अमानवीय भइसकेछन्। राति झन्डै साढे दुई बजेको समयमा घरमा बुबा आमा सुतेको कोठामा बाहिर बाट ताल्चा लगाई  परालको टौवामा आगो लगाएर ध्वस्त बनाइदिए’, उनले भने, ‘केही दिनदेखि हाम्रो छिमेकी र आफन्तको घरको परालको टौवामा आगो लगाउने अपराधीले यस्तो काम गरिरहेको छ। समाजमा ४ वटा एउटै प्रकृतिका घटना दोहोरिइरहेका छन्। यस्ता आपराधिक क्रियाकलाप गर्ने अपराधीलाई प्रहरी प्रशासनले तत्काल पक्राउ गरी कानुनी कारबाही गरी समाजमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन एक पीडित परिवारको तर्फबाट अनुरोध छ।’

खुर्कोटका वडाध्यक्ष लालकृष्ण बास्तोला तथा स्थानीय बासीले आगजनीमा सक्रियहरूलाई नियन्त्रणमा लिन तथा थप घटना घटाउन नदिनको लागि रातिको समयमा निगरानी गरिरहेको भए पनि दोषीहरूलाई पत्ता लगाउन नसकिएको बताए। आगजनी गर्नेहरूले श्रृङ्खलाबद्ध रूपमा टौवा जलाउने काम गरिरहेकोले कुन रातमा कसको टौवा जल्ने हो भन्ने पीडाले रातभर सुत्न नसकिएको बताएका छन्।

यसबारेमा कुरा गर्दा प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालका अनुसार श्रृङ्खलाबद्ध रूपमा भइरहेका आगजनीप्रति प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरी दोषीलाई नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। आगजनी आतङ्कको कारण खुर्कोटबासी नै समस्यामा परेको बारेमा आफूहरू गम्भीरतापूर्वक दोषी पत्ता लगाउने प्रयासमा रहेको भन्दै प्रहरी नायव उपरीक्षक भुसालले एक÷दुई दिनमा नै अनुसन्धानको  निष्कर्षमा पुगिने उल्लेख गरे।

‘गाउँमा भइरहेको यो समस्याको बारेमा हामी गम्भीर भएर अनुसन्धान गरिरहेका छौँ। यस्तो अमानवीय कार्यप्रति हामीले सबै तरिकाले अनुसन्धान जारी राखेका छौँ’, उनले भने, ‘एक÷दुई दिनमा नै यो बारेको अनुसन्धानको निष्कर्षमा हामी पुग्ने छौँ। हामीले सूक्ष्म तरिकाले आगजनीका घट्नाहरू हेरिरहेका छौँ।’

बर्खा याममा खेत र बारीका कान्लामा हुर्किने घाँसलाई चौपायाको प्रमुख आहारको रूपमा प्रयोग गर्ने गरिएको भए पनि हिउँदको बेलामा पराललाई नै प्रमुख आहारको रूपमा प्रयोग गर्ने गरिएको छ। कात्तिक, मङ्िसरमा धान काटेपछि धानको ठाडो पराल भुईँमा फिँजाएर त्यसमाथि गोरु रिँगाएर दाइँ राख्ने गरिन्छ। उक्त माडिएको पराललाई चौपाया बाँध्ने गोठको नजिकै चुलाएर राख्ने गरिन्छ। पुस माघको  समयमा अत्यधिक चिसो भएर घर बाहिर निस्किन नसक्दा तथा खेत बारीमा हरियो घाँस नभएको बेलामा चौपायालाई पराल खुवाउने गरिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.